सैनिक मञ्च टुडिखेलमा सैनिक कला प्रदर्शन गर्दा एक सैनिक घाइते


काठमाडौं – नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा सैनिक कला प्रदर्शनका क्रममा एक जना नेपाली सेना गम्भीर घाइते भएका छन् । सोमबार महाशिवरात्री तथा सेना दिवसको अवसरमा टुँडिखेलमा आयोजित सैनिक कला प्रदशर्नका क्रममा प्यारासुटको माध्यमबाट ’फ्री फल जम्प’ देखाउने क्रममा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन् ।

प्राविधिक कारणले सही रुपमा तल झर्न नसक्दा दुर्घटना हुन पुगेको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिए । आकाशमा उडिरहेको प्यारासुट प्राविधिक गडबडी आएपछि भण्डारी अनियन्त्रित हुँदै टुँडिखेलमा खस्न पुगेका थिए । प्यारासुटबाट खसेका भण्डारीलाई तत्काल नेपाली सेनाको टोलीले उद्धार गरेर नजिकैको वीर अस्पतालमा उपचारका लागि लगेको थियो ।

प्यारासुट खसेपछि सैनिक कला हेरेर बसेका दर्शकसमेत दुर्घटनास्थलमा दौडादौड गर्दै उद्धारका लागि पुगेका थिए । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी रहेकी छिन्। सेना दिवसका अवसमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थिति रहेको थियो ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चको समारोहमा परेड (शस्त्राभ्यास) र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन भएका छन्।

सेनाको प्रयोगमा रहेका हात हतियार र उपकरणको प्रदर्शनी तथा सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिने कार्यक्रम गरेको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिए। त्यस अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले उत्कृष्ट कार्यसम्पादन गर्ने गण र गुल्मलाई पुरस्कार तथा नयाँ गण र गुल्मलाई निशान प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement