काठमाण्डु – राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा मंगलबार साँझ एउटा विशेष सांगीतिक माहोल देखियो।
चिनियाँ दूतावास र इनर मंगोलियाको संस्कृति तथा पर्यटन विभागले आयोजना गरेको ‘भ्वाइस अफ स्प्रिङ’ कार्यक्रममा चीनको प्रसिद्ध इनर मंगोलिया क्षेत्रको मौलिक कला र संस्कृति प्रस्तुत गरियो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पूर्व राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक र छिमेकीका रूपमा निकै प्रगाढ रहेको बताए ।
नेपालको भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता समेत उनले जनाए । तिमिल्सिनाले भने, ‘नेपाल र चीन सधैँका असल मित्र हुन्। हामी नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन दिने छैनौँ र गर्ने पनि छैनौँ।’
उनले यस्ता सांस्कृतिक कार्यक्रमले दुई देशका जनताबीचको सम्बन्धलाई अझ नजिक ल्याउने र एकअर्काको कला संस्कृति बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल र चीनबीचको सांस्कृतिक सहकार्यका नयाँ ढोकाहरू खुल्दै गएकोमा खुसी व्यक्त गरे । इनर मंगोलियाको मौलिक कला र संगीतलाई नेपाली दर्शकमाझ ल्याउन पाउनु गौरवको विषय भएको बताउँदै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए ।
नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रको समन्वयमा भएको यो कार्यक्रममा ‘इनर मंगोलिया आर्ट थियटर’का कलाकारहरूले विशेष प्रस्तुति दिएका थिए। कलाकारहरूले आफ्नो क्षेत्रको जनजीवन, प्रकृति र परम्परा झल्किने गीत तथा नृत्य प्रस्तुत गर्दा हलमा उपस्थित दर्शकहरू मन्त्रमुग्ध भएका थिए।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, कूटनीतिज्ञ, सुरक्षा निकायका उच्च अधिकारी र कलाप्रेमीहरूको ठुलो संख्यामा उपस्थिति थियो। यस सांगीतिक साँझले नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाएको महसुस गरिएको छ।




प्रतिक्रिया