पक्राउ परेका इन्सपेक्टरलाई सात दिन थुनामा राख्न अनुमति


काठमाडौं – लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुद्र शाहीलाई ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । उनलाई लागूऔषध नियन्त्रण व्यूरोले हिजो नियन्त्रणमा लिएको थियो ।

जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

बुधबार पेप्सीकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान गर्दै जाँदा इन्स्पेक्टर शाहीसँग कनेक्सन जोडिएको पाइएको थियो । प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतल बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद भएको थियो ।

२० दिनअघिसम्म इन्स्पेक्टर शाही प्रहरी वृत्त सातदोबाटोमा कार्यरत थिए । उनको व्यवहार आपत्तिजनक भएको व्यापक जनगुनासो आएपछि उनलाई परिसर तानिएको थियो । प्रहरी स्रोतका अनुसार, इन्स्पेक्टर शाही लागूऔषध सेवनकर्ता हुन् । डिउटीमै लागूऔषध सेवन गरेर सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको पाइएपछि उनलाई परिसर तानिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement