काठमाण्डु– मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको घटनामा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलको ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले इन्स्पेक्टर विवेक जोशीविरुद्ध आत्महत्या दुरुत्साहन आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयमा साेमबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
परिवारले दिएको जाहेरीमा सन्तोषीसँग जोशीको प्रेम सम्बन्ध रहेको र उनकै कारण सन्तोषी आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरिएको छ । उक्त घटना छानबिनका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ। पक्राउ परेका इन्स्पेक्टर २३ नम्बर गण तनहुँमा कार्यरत छन् । इन्स्पेक्टर जोशी महतभन्दा एक ब्याच सिनियर हुन्।
सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षकको ९ औं नम्बरमा नाम निकालेर बेसिक तालिम गर्न पोखरा पुगेकी सन्तोषी महत शनिवार राति ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–७ लागर्चे घर भएकी महतले सशस्त्रमा जवानदेखि जागिर खाएकी थिइन् । उनले २०७८ मा सशस्त्रको असईमा नाम निकालेकी थिइन् भने २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।
गत मंसिर अन्तिममा बेसिक तालिमको लागि उनी पोखरा लामाटार गएकी थिइन् । पहिलो चरणको तालिम पोखरामा हुन्छ भने दोस्रो चरणको तालिम एकेडेमीमा हुन्छ । उनी पहिलो चरणको तालिम गर्दै थिइन् ।




प्रतिक्रिया