स्वास्थ्य बीमा बोर्डको प्रस्टीकरण : ओपीडी सेवामा अधिकतम २५ हजारको सीमा (सूचनासहित)

स्वास्थ्य बीमा बोर्डको प्रस्टीकरण : ओपीडी सेवामा अधिकतम २५ हजारको सीमा (सूचनासहित)


काठमाण्डु – स्वास्थ्य बीमा बोर्डले बीमा गराएका ५ जनासम्मको परिवारले वार्षिक रूपमा पाउने १ लाख रुपैयाँ बराबरको उपचार सुविधा नघटाइएको प्रस्ट पारेको छ ।

पछिल्लो समय बीमाको सुविधा रकम घटाइएको भनी फैलिएको भ्रमप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डका अनुसार बीमित परिवारले पाउँदै आएको कुल सेवाको सीमा यथावत् रहेको छ । तर बहिरंग (ओपीडी) सेवाको प्रयोगलाई मात्र थप व्यवस्थित र मितव्ययी बनाउन नयाँ व्यवस्था लागू गरिएको हो ।

नयाँ व्यवस्था अनुसार ५ जनासम्मको परिवारले वार्षिक रूपमा पाउने कुल १ लाखमध्ये बहिरंग सेवाका लागि अधिकतम २५ हजार रुपैयाँसम्म खर्च गर्न पाइनेछ । तर थप प्रतिसदस्य बराबर ५ हजार रुपैयाँका दरले सीमा बढ्नेछ ।

बिमाको बाँकी रकम अस्पताल भर्ना भएर गरिने उपचार र आकस्मिक सेवाका लागि पूर्ववत् रूपमै उपयोग गर्न सकिनेछ ।

स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपन जोगाउन बोर्डले यस्तो कदम चालेको बताएको छ । बोर्डका अनुसार अनावश्यक र दोहोरो सेवाको प्रयोगलाई नियन्त्रण गर्न, गम्भीर, जटिल र जीवनरक्षात्मक उपचारका लागि स्रोत सुरक्षित राख्न र वित्तीय संकटको अवस्थामा कोषलाई टाट पल्टिनबाट जोगाउन सीमा तोकिएको बोर्डले जनाएको छ ।

पछिल्लो निर्णयले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ बढी जिम्मेवार र प्रभावकारी बनाउन गरिएको भन्दै कुनै पनि भ्रममा नपर्न बीमितहरूलाई बोर्डले आग्रह गरेको छ ।