काठमाण्डु –नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योगहरूमा विद्युत कटौती गरी नेपाल विद्युत् प्राधिकरणले विद्युत निर्यात गरेकोमा आपत्ति जनाएको छ । विद्युत प्राधिकरणले दैनिक ४०० मेगावाट विद्युत भारत निर्यात गरेको जनाएको छ ।
नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत् राख्दै प्राधिकरणले विद्युत् निर्यात गरेको विषयप्रति परिसंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
सरकारले स्वदेशी उद्योगहरूको प्रवद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरूलाई मारेर कसरी विद्युत् निर्यात गर्न सक्यो भन्ने भन्दै परिसंघले विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ ।
‘हामीले विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भए पनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आएका थियौँ । तर, प्राधिकरणले विद्युत् आयात गर्दा महँगो पर्ने तर्क गर्दै विद्युत् आयात नै गरेन । जसको मारमा उद्योगहरू विगत तीन महिनाअघि देखि पर्दै आएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको परिसंघले भनेको छ ।
उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न समेत परिसंघले प्राधिकरणलाई आग्रह गरेको छ ।
विद्युत उत्पादन कम हुँदा आयात गरेरै भए पनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएकोमा प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै नगरेको आरोप उसको छ । पूर्वी क्षेत्रका उद्योगहरु विगत तीन महिनाअघि देखि पर्दै आएका छन् ।
स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रवद्र्धनमा सहयोग गर्न पनि परिसंघले आग्रह गरेको छ ।




प्रतिक्रिया