एजेन्सी – अमेरिकाको नर्थ क्यारोलिना राज्यमा एक पुरूष रक्सी सेवन नगरे पनि बारम्बार मापसे सेवनमा पक्राउ परिरहे । उनले बारम्बार आफूले मदिरा सेवन नगरेको भन्दै मापसे परीक्षण गर्न नमानेपछि उनी प्रहरीको थप शंकाको घेरामा परे । प्रहरीले उनलाई मापसे परीक्षणका लागि पछि अस्पतालै र्पुयायो । जब अस्पतालमा परीक्षणको नतिजा आयो, तब त्यसले सबै तीन छक परे !
रगत जाँचपछि उनको शरीरमा ०.२ प्रतिशत मदिराको मात्रा भएको पाइएको थियो । अझ अचम्म त त्यहाँ भयो, जब रिपोर्टै आउँदा पनि ती व्यक्तिले आफूले मदिरा नखाएको दाबी गरिरहेका थिए । तर डाक्टरहरू भने उनको कुरा मान्न तयार थिएनन् । तर रिचमण्ड विश्वविद्यालय मेडिकल सेन्टरका अन्वेषकहरूले ती व्यक्तिको भनाइ साँचो भएको पुष्टि गरिदिए । मेडिकल सेन्टरले पत्ता लगाएअनुसार ती व्यक्तिको शरीरले आफैं मदिरा बनाउँछ । अर्थात् उनले खाएका खानामा भएको कार्बोहाइड्रेटलाई शरीरमा भएको ढुसी (यिस्ट)ले मदिरा बनाइदिने रहेछ । सामान्य भाषामा भन्दा, उनको शरीरमा रक्सी बन्थ्यो ।
यस प्रकारको मेडिकल समस्यालाई चिकित्सकहरू अटो–ब्रिअरी सिन्ड्रोम भन्छन् । यसलाई ‘गट फर्मेन्टेसन सिन्ड्रोम’ भनेर पनि चिनिन्छ । यो प्रक्रिया ’ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक’को माथिल्लो भागमा हुन्छ, जसमा पेट र सानो आन्द्रा पनि समावेश हुन्छ । बर्मिङहामको अलाबामा विश्वविद्यालयमा अध्ययन गर्ने आन्तरिक मेडिसिनका प्रमुख फहद मलिकका अनुसार अटो–ब्रिअरी सिन्ड्रोम भएकामा देखिने लक्षण सामान्य मानिसले मदिरा सेवन गर्दा देखिने जस्तै हुन्छ ।
‘यो समस्या भएकाको सास, गन्ध, चाल लगायत सामान्य मानिसले मादिरा सेवन गर्दा जस्तो हुन्छ, त्यस्तै हुन्छ,’ उनले भनेका छन्, ‘उनीहरूको उपचार यिस्ट हटाउने औषधिद्वारा गर्न सकिन्छ ।’ ओहियोका डाक्टरले उनको परीक्षण गरे । शरीरमा खास समस्या नदेखिए पनि दिसामा भने दुई खाले यिस्ट देखियो । यसमा एकखाले त्यही यिस्ट हो जुन बियर तथ वाइन बनाउन प्रयोग हुन्छ । अर्को चाहिँ सामान्य थियो । परीक्षणपछि उनलाई धेरै कार्बोहाइड्रेट भएका खाना प्रतिबन्ध लगाइयो । उनको अवस्था सुधारिँदै पनि गयो । तर केही सातापछि लक्षण फेरि देखा परे । डाक्टरले अनेकौं गरे पनि उनको यो समस्याको उपचार हुन सकेन ।
उनी एकदमै अस्वस्थ हुँदै गएपछि उनको दिमागमा आन्तरिक रक्तस्राव भयो । अस्पताल भर्ना हुँदा उनको शरीरमा ५० देखि ४० मिलिग्राम मदिरा देखिएको थियो । उनले मदिरा पिएका छैनन् भन्ने कुरा कसैले विश्वास गरेका थिएनन् । अन्ततः दस दिनमा उनको दिमागको समस्या कम भयो ।
यसरी बारम्बार समस्यासँग जुध्दै आएका उनले अन्ततः अनलाइनमार्फत् सहयोग लिए र रिचमण्ड विश्वविद्यालय मेडिकल सेन्टरका अनुसन्धानकर्तासँग सम्पर्क भयो । सेन्टरका अनुसार ती व्यक्तिले केही वर्षअघि लिएका एन्टिबायोटिक्सकै कारण उनको पेटमा रासायनिक परिवर्तन भएको हो । औषधिका कारण यिस्ट बढेको र उनी अटो–ब्रिअरी सिन्ड्रोमको शिकार भएको सेन्टरको भनाइ छ ।




प्रतिक्रिया