काठमाण्डु – अन्तर्राष्ट्रिय नारी दिवसबारे धेरै चर्चा हुँदै आएको छ । यहि चर्चाका बीच शनिबार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघले २०२५को नारी दिवसको नारा ‘सबै महिला र युवतीका लागि समानता र सशक्तीकरण’ राखेको छ । यसको लक्ष्य नयाँ पुस्तालाई दीर्घकालीन परिवर्तनका संवाहक हुने गरी बलियो बनाउनु हो ।
आयोजकहरू यो दिवसले लैङ्गिक समतालाई गति प्रदान गर्नका लागि कर्म गर्न प्रेरित गर्छ भन्ने मान्यता राख्छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको वेबसाइटले यो वर्ष आफ्नो थीम #AccelerateAction छानेको छ । यसले सामाजिक सञ्जालमा दिवस तथा महिला सशक्तीकरणका विषयमा लेख्दा #IWD@)@% र #AccelerateAction प्रयोग गर्न आह्वान गरेको छ ।
तर यो दिवस के का लागि हो र कहिले मनाइन्छ? यो उत्सव मनाउने दिन हो कि विरोधप्रदर्शन गर्ने दिन हो? भन्ने प्रश्न पनि उठ्दै आएको छ ।
जसरी विश्वभर नारी दिवस मनाइन्छ त्यसै गरी पुरुषहरूका लागि पनि त्यस्तै कुनै दिवस छ त? यो विषयमा पनि संसारभर बहस चल्दै आएको छ ।
एक शताब्दीभन्दा अघिदेखि ८ मार्च लाई मानिसहरूले महिलाको विशेष दिन मानेर विश्वभरि नारी दिवस वा महिला दिवस मनाउँदै आएका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसलाई श्रमिक आन्दोलनबाट सुरु भएको मान्निछ । संयुक्त राष्ट्र संघले पनि यस दिवसलाई मान्यता दिएको छ ।
सन् १९०८ मा न्यूयोर्क सिटीमा १५,००० महिलाले दैनिक काम गर्ने समयावधि घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र आफूलाई मतदानको अधिकार प्राप्त हुनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । त्यसैबाट दिवसको बीजारोपण भएको हो ।
त्यसको एक वर्षपछि ‘द सोशलिस्ट पार्टी अफ अमेरिका’ले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गरेको थियो । उक्त दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार क्लारा जेट्किन नाम गरेकी कम्युनिस्ट अभियानकर्मी तथा महिला अधिकारवादीले अगाडि सारेकी थिइन् ।
उनले उक्त विचार डेनमार्कको कोपन्हागनमा ‘कन्फरेन्स अफ वर्किङ विमिन’ नामको सन् १९१० मा भएको सम्मेलनमा सुझाव दिएकी थिइन् । त्यो सम्मेलनमा १७ देशका १०० महिला सहभागी थिए । उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए ।
नारी दिवस पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्यान्डमा मनाइएको थियो भने शतवार्षिकी सन् २०११ मा मनाइयो ।
सन् १९७५ मा संयुक्त राष्ट्रसंघले नारी दिवस मनाउन सुरु गरेपछि त्यसले औपचारिक तथा अन्तर्राष्ट्रिय तहमा पुग्यो । राष्ट्रसंघले पहिलो नारा ‘सेलब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर’ अर्थात् विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने भन्ने राखेको थियो ।
अन्तर्राष्ट्रिय नारी दिवस महिलाहरू समाजमा कति अगाडि बढे, राजनीति र अर्थतन्त्रमा कति अगाडि बढे भनेर मनाउने दिवस बनेको छ । साथै विद्यमान असमानताबारे चेतना बढाउन कतै विरोधप्रदर्शन र जुलुस गरेर यो दिवस मनाउने गरिन्छ ।
क्लाराले अन्तर्राष्ट्रिय महिला दिवस प्रस्ताव गर्दा कुनै निश्चित दिन तोकेकी थिइनन् । तर सन् १९१७ मा युद्धका बेला रुसी महिलाहरूले शान्ति र रोटी माग गर्दै चारदिने विरोधप्रदर्शन गरेपछि त्यस बेलाका शासकले सत्ता छोडेका थिए । त्यसपछि बनेको कामचलाउ सरकारले महिलालाई मतदानको अधिकार दिएको थियो ।
त्यस बेला रुसमा प्रचलनमा रहेको जुलिअन क्यालेन्डरअनुसार २३ फेब्रुअरीको दिनमा महिलाको हडताल सुरु भएको थियो । ग्रेगोरिअन क्यालेन्डरका अनुसार उक्त दिन ८ मार्च परेको थियो । त्यसयता ८ मार्चमा नारी दिवस मनाउन सुरु भएको हो ।
धेरै देशमा यो दिन सार्वजनिक बिदा दिइन्छ । नेपनलमा यसदिन महिलालाई पुरा बिदा दिइन्छ । चीनमा महिलाले आधा दिनको बिदा पाउँछन् । विश्वभरि यो दिन विभिन्न कार्यक्रम गरिन्छ ।
इटलीमा यो दिन लज्जावतीको फूल उपहार दिने चलन छ । यो दिन रुसमा फूलको बिक्री दुई गुनाले बढ्छ । सर्बिया, आल्बेनिया, मेसेडोनिया र उज्बेकिस्तानमा नारी दिवसकै दिन आमा दिवस पनि मनाइन्छ ।
संयुक्त राज्य अमेरिकामा मार्चलाई ‘महिला इतिहास महिना’को रूपमा मनाइन्छ । अमेरिकी राष्ट्रपतिद्वारा हरेक वर्ष अमेरिकी महिलाहरूले गरेको प्रगति विवरण उल्लेख गर्ने चलन छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको वेबसाइटका अनुसार प्याजी, हरियो र सेतो रंग अन्तर्राष्ट्रिय नारी दिवसको रंग हो ।
‘प्याजी रंगले न्याय र गरिमा जनाउँछ । हरियोले आशा जनाउँछ भने सेतोले पवित्रता जनाउँछ । तर यो धारणा विवादास्पद छ । यी रंगहरू बेलायतको विमिन्स सोशल एन्ड पोलिटिकल यूनिअन (डब्ल्यूएसपीयू)ले पहिलो पटक प्रयोग गरेको थियो ।
पुरुष दिवस पनि !
नोभेम्बर १९मा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइन्छ ।
तर यो दिवस सन् १९९० को दशकदेखि मात्र मनाउन थालिएको हो । यसलाई संयुक्त राष्ट्रसंघले अनुमोदन गरिसकेको छैन । तर बेलायतसहित ८० देशमा यो दिवस मनाइन्छ ।
यो दिनमा पुरुषले संसार, उनीहरूका परिवार र समुदायलाई दिने सकारात्मक देनको स्मरण गरिन्छ । आयोजकहरूका अनुसार यो दिवसले सकारात्मक र प्रेरक व्यक्तित्वहरूबारे जानकारी सार्वजनिक गर्ने, पुरुषको स्वास्थ्यजस्ता विषयमा चेतना जगाउने र लैङ्गिक सम्बन्ध सुधार्ने काम गरिन्छ ।




प्रतिक्रिया