काठमाण्डु – सरकारले भदौ १ गतेबाट अन्तराष्ट्रिय हवाई उडान तत्कालका लागि घातक हुने चेतावनी दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई उडान खोल्ने निर्णय गरेको थियो ।
जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले सरकारले होलसेलमा गरेको निर्णय नेपालका लागि घोतक बन्ने चेतावनी दिएका छन् । उनले नेपालमा कोरोना संक्रमण समुदायस्तरमा फैलिनसककोले थप सचेत बन्नुपर्ने सुझाव दिएका छन् ।
‘अन्तराष्ट्रिय उडान गर्ने बित्तिकै नेपाल कोरोना संक्रमणबाट सुरक्षित छ भनेर भारत लगायत बिभिन्न देशबाट ठूलो संख्यामा संक्रमितहरु नेपाल आएमा समुदायमा कोरोना संक्रमण फैलिने खतरा हुनेछ’, उनले भने, ‘ज्ञातव्य छ भारतमा असोजभर कोरोना संक्रमण फैलिएर कार्तिकबाट नियन्त्रण उन्मुख हुने अध्ययनले बताएका छन् ।’
विज्ञ पाण्डेले सरकारले कोरोना संक्रमण कम भएका जिल्लामा आन्तरिक हवाई उडान गर्ने र असोज १ देखि नेपाली कामदार भएका देशमा तथा कोरोना संक्रमण नियन्त्रण भएका देशमा मात्र अन्तराष्ट्रिय उडान संचालन गर्नुपर्ने बताएका छन् ।
कार्तिकदेखि क्रमशः संक्रमण नियन्त्रण भएका देशबाट हवाइ संचालनको अनुमति दिने र सम्भावित सेकेन्ड वेभ (कार्तिक र मङ्सिरदेखि सुरु हुनसक्ने) को लागि हामी पूर्ण रुपमा तयारी गर्नुपर्ने तर्क उनको छ ।
विज्ञ पाण्डेले चाडपर्वका लागि २÷३ लाख नेपाली भारतबाट आउन सक्ने तथा करिब १ लाख नेपाली अन्य देशबाट नेपाल आउने सम्भावना रहेको बताएका छन् ।
‘उहाँहरुलाई राख्ने होल्डिंग सेन्टर÷क्वारेन्टाइन व्यस्थित गर्ने, परीक्षणको क्षमता बढाउने तथा संक्रमितलाई राख्नको लागि आइसोलेसन सेण्टरको प्रबन्ध गर्ने काम सकेर मात्र निर्णय गर्नु बुद्धिमानीपूर्ण निर्णय हुनेछ’, उनले भने ।
उनले सरकारले कोरोना संक्रमण हराए जसरी काम गरिरहेकोमा असन्तुष्टी जनाएका छन् । विज्ञ पाण्डेले अपरिपक्क निर्णय नगर्न पनि सरकारलाई सुझाव दिएका छन् ।
‘हामीले यो तथ्य नबिर्सौं, नेपालमा कोरोना संक्रमण हराएको छैन । ठूला सहर, संक्रमित गाउँ तथा बोर्डर क्षेत्रमा ब्यापक परीक्षण गरेर निचोडमा नपुग्ने बेलासम्म अपरिपक्व निर्णय नगरौं । सरकारको फितलो अनुगमन हाल चलेका सार्वजनिक यातायातले देखाएका छन्’, उनले भने ।
त्यस्तै उनले अन्तराष्ट्रिय उडान खोलेर पर्यटक भित्रिन्छन् भन्ने भ्रम नपाल्न पनि सरकारलाई सुझाव दिएका छन् । उनले कोरोना महामारी हुञ्जेलसम्म नेपालमा पर्यटकको आवागमन नहुने भएकाले हवाई उडान खोल्नु व्यर्थ हुने तर्क उनको छ ।
‘नेपाली कामदार, बिद्यार्थी तथा बाहिर रहनुभएका नेपालीलाई आफ्नो देश आउनको लागि सहजीकरण गर्ने उद्देश्य राखेर मात्र हवाईजहाज संचालन गर्नु सुरक्षित हुनेछ’, उनले भने ।




प्रतिक्रिया