काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले इन्टरपोलले नेपाल प्रहरीलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा राखेको जानकारी दिएका छन् ।
इन्टरपोल महासचिवालयको आयोजनामा चिलीको सान्टियागोमा यही असोज २८ देखि कात्तिक १ गते (१५ देखि १८ अक्टोबर, २०१९) मा सम्पन्न इन्टरपोलको ८८औं महासभामा सहभागी भई शुक्रबार राति स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै प्रहरी महानिरीक्षक खनालले इन्टरपोलले नेपाल प्रहरीलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा राखेको बताउँदै उत्कृष्ट अनुसन्धानलाई निरन्तरता दिन नेपाल प्रहरी प्रतिवद्ध भएको बताए ।
इन्टरपोलप्रति एक्यवद्ध भई काम गर्ने नेपाल प्रहरीको शैलीका साथै अपराध र अपराधीप्रति शून्य सहनशिलताका साथ नेपाल अगाडि बढेको छ भन्ने स्पष्ट सन्देश दिइएकाले उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘उत्कृष्ट अनुसन्धानलाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा हामी प्रतिवद्ध छौं ।’
विभिन्न १ सय ६२ वटा सदस्य राष्ट्रहरूको सहभागिता रहेको उक्त महासभामा विभिन्न कार्यसूचिमा छलफल भई हरेक सदस्य राष्ट्रका समस्याहरूलाई समाधान गर्न अझै प्रभावकारी ढंगले अगाडि बढ्न प्रतिवद्ध भएको प्रहरी महानिरीक्षक खनालले बताए । विशेष गरी मुख्य चुनौतीको रुपमा रहेको सिमावर्ती अपराध, साइबर अपराधलाई कसरी रोकथाम गर्ने र त्यसको सफल अनुसन्धान गर्ने बिषयका साथै इन्टरपोलका विविध क्रियाकलाप र वार्षिक बजेटलगायतका विषयमा छलफल केन्द्रित रहेको उनले जानकारी दिए ।
विभिन्न देशका प्रहरी प्रमुखहरूसँगका भेटघाटका अवसरमा नेपाल र नेपाल प्रहरीसँग सन्बन्धित विषयमा केन्द्रित भई आफ्ना धारणा स्पष्ट राखि सहयोग आदान प्रदान र समन्वयका विषयमा वार्तालाप भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘इन्टरपोल महासभाको फोरमलाई एउटा अवसरको रुपमा लिई नेपाल भ्रमण वर्ष सन् २०२० का विषयवस्तु प्रस्तुत गरियो, जसले नेपालको प्रगति र विकासका लागि भइरहेका विषयहरू प्रष्ट पार्नुका साथै अतिथि स्वागत गर्ने काम पनि भए ।’
नेपालले इन्टरपोलका विभिन्न तालिम सफलतापूर्वक संचालन गर्नुका साथै इन्टरपोलका क्रियाकलापमा नेपाल प्रहरी अत्यन्तै प्रभावकारी रुपमा काम गर्दै अगाडि बढेकोले इन्टरपोल महासभामा नेपाल प्रहरीको उच्च प्रशंसा भएको प्रहरी महानिरीक्षक खनालले बताए । पृथक भौगोलिक संरचना भएको हाम्रो देशमा अपराध नियन्त्रण गर्न अझ बढी पुलिसिङ दृष्टिकोणबाट सहयोग लिनुपर्ने अवस्था रहेको चर्चा गर्दै अपराध नियन्त्रणलाई संवेदनशिलताका साथ हेर्ने नेपाल प्रहरीको दृष्टिकोणलाई समेत महासभामा उच्च मूल्याङ्न गरिएको उनले उल्लेख गरे । अगामी दिनमा इन्टरपोलसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने उनले उल्लेख गरे ।
महासभाले इन्टरपोलको महासचिवमा जर्मनीका जर्गेन स्टकलाई ५ वर्षका लागि पुनः नियुक्ति गरेको प्रहरी महानिरीक्षक खनालले बताए । साथै इन्टरपोलको ८९औं महासभा उरुग्वेमा आयोजना हुने निर्णय भएको समेत उनले जानकारी दिए । साथै युरोपको भाइस–प्रेसिडेन्टमा चेक रिपब्लिकबाट सार्का हार्भास्कोभा, अमेरिकाको प्रतिनिधिमा चिलिबाट हेक्टर एस्पिनोसा भलेन्जेला, एशियाको प्रतिनिधिमा जोर्डनबाट खालिद जमिल अल मातारियन र युरोपको प्रतिनिधिमा एण्डोराबाट रोबर्ट गैरो बैलेन नव निर्वाचित भएका छन् ।
प्रहरी महानिरीक्षक खनालले महासभाको दौरानमा इन्टरपोलका अध्यक्ष किम जोङ याङ र महासचिव जर्गेन स्टक लगायत विभिन्न सदस्य राष्ट्रका प्रहरी प्रमुखहरुसँग छुट्टाछुट्टै भेटघाट गरी द्विपक्षीय हित तथा सहयोग आदानप्रदानका विषयमा छलफल गरेका थिए । महासभामा ल्ऋद्य नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक खनाल, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी लगाएतको सहभागिता थियो । प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा रहेको टोलीलाई वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।




प्रतिक्रिया