छुट्नु त भएन ? रिज लाइन इनर्जीको आइपिओमा आवेदन दिने आज अन्तिम मौका

छुट्नु त भएन ? रिज लाइन इनर्जीको आइपिओमा आवेदन दिने आज अन्तिम मौका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रिज लाइन इनर्जी लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत माघ २८ गतेदेखि आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले कुल निष्कासित सेयरमध्ये ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि तथा २८ हजार ४४० कित्ता कर्मचारीका लागि छुट्याएको छ ।

बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

आइपिओमा आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, अनलाइन माध्यमबाट ‘मेरो शेयर’ प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

यस आइपिओ को निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो ।

सोही अनुमति अन्तर्गत पहिलो चरणमा कम्पनीले गत पुस १३ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आइपिओ जारी गरेको थियो ।

पहिलो चरणअन्तर्गत शेयर बाँडफाँट प्रक्रिया सम्पन्न गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो । आज कार्यालय समयभित्र आवेदन नदिएमा लगानीकर्ताले यस अवसरबाट वञ्चित हुनुपर्ने भएकाले इच्छुक लगानीकर्तालाई समयमै आवेदन दिन आग्रह गरिएको छ ।