काठमाण्डु – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएको छ ।
इरानको सरकारी टेलिभिजनले अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ।
आइतबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनीको मृत्युको भएको दाबी गरेका थिए।
‘इतिहासको सबैभन्दा खराब व्यक्ति मध्ये एक, खामेनी अब मरेका छन्,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् ।
एक जना आँसुले भरिएको सरकारी टिभी प्रस्तोताले खामेनीको मृत्युको घोषणा गरेका छन् । खामेनीको मृत्यु भएकोमा इरानले ४० दिनको शोक मनाउने घोषणा गरेको छ ।
शनिबार अमेरिका र इजरायलले धेरै इरानी शहरहरूमा आक्रमण गरेका थिए । सन् १९८९ मा आयातोल्लाह खुमेनीको निधनपछि खामेनीले इरानको सर्वोच्च शक्तिको बागडोर सम्हालेका थिए। उनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समय शासन गर्ने नेता हुन्।
१९७९ को इस्लामिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका खामेनी क्रान्तिअघि ६ पटक पक्राउ परेका थिए।
तेस्रो राष्ट्रपतिका रूपमा इरान-इराक युद्धको नेतृत्व गर्दा नै उनको सम्बन्ध इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग बलियो भएको थियो। उनलाई पश्चिमी देशहरूका कट्टर विरोधी र हार्डलाइनरु नेता मानिन्थ्यो। उनको निधनसँगै मध्यपूर्वको राजनीतिमा नयाँ र अनिश्चित मोड आउने विश्लेषण गरिएको छ।
१३३ जनाका मृत्यु
अमेरिका र इजरायलको आक्रमणबाट इरानमा कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य कारबाही ुअपरेसन एपिक फ्युरीु मा परी ठूलो संख्यामा मानवीय क्षति भएको छ।
इरानमा मानवअधिकारसँग सम्बन्धित अमेरिकी समाचार संस्था एचआरएएनएकाले कम्तिमा १३३ जना मारिएको र २०० भन्दा बढी घाइते भएको जनाएको छ। आक्रमणमा ८ जना सैन्य अधिकारी पनि मारिएको उक्त समाचार संस्थालाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।
यता, इरानी रेड क्रिसेन्टले भने मृतकको संख्या २०१ पुगेको र ७४७ जना घाइते भएको दाबी गरेको छ।
अमेरिका र इजरायलले इरानका २४ प्रान्तहरूका विभिन्न स्थानमा लक्ष्य गरेर हमला गरेको थियो। हमलामा इरानका उच्च अधिकारी र सैन्य संरचनालाई मात्रै लक्ष्य गरिएको भन्ने अमेरिका र इजरायलको दाबी छ।




प्रतिक्रिया