काठमाण्डु– मध्यपूर्वको तनाव कम गर्ने सम्भावित अमेरिका–इरान सम्झौता आइतबार हस्ताक्षर हुन सक्ने संकेत देखिएपछि कूटनीतिक गतिविधि तीव्र बनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता सम्पन्न भएलगत्तै रणनीतिक महत्त्वको हर्मुज जलघाँटी ‘सबैका लागि खुला’ हुने दाबी गरेका छन् । यद्यपि इरानले हस्ताक्षरको समयसीमाबारे अझै सावधानीपूर्ण धारणा व्यक्त गरेको छ ।
हप्तौँदेखि जारी युद्ध र अवरुद्ध वार्तापछि दुवै पक्ष तथा मध्यस्थकर्ताहरूले समाधानको सम्भावना बढेको संकेत दिएका छन् । प्रमुख मध्यस्थकर्तामध्ये एक पाकिस्तानले सम्झौता पहिलेभन्दा धेरै नजिक पुगेको जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले शनिबार सामाजिक सञ्जाल एक्समार्फत आगामी २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप लिन सक्ने बताए । उनका अनुसार सम्झौतामा विद्युतीय हस्ताक्षर गरिनेछ भने अर्को साता प्राविधिक तहको वार्ता पनि जारी रहने अपेक्षा गरिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले समेत आइतबार हस्ताक्षरको योजना रहेको पुष्टि गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भनेका छन् , “यो सम्झौता भोलि हस्ताक्षर हुने तय भएको छ र हस्ताक्षर भएसँगै हर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ ।”
यद्यपि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले हस्ताक्षरको मिति अझै अन्तिम नभएको स्पष्ट पार्दै ‘यो भोलिपल्ट नहुन सक्छ, तर आगामी दिनमा सम्भावनालाई अस्वीकार गर्न सकिँदैन’ भनेका छन् । एजेन्सी




प्रतिक्रिया