ट्रम्पले गरे तेहरान खाली गराउन आह्वान, इरानी सर्वोच्च नेता खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव

ट्रम्पले गरे तेहरान खाली गराउन आह्वान, इरानी सर्वोच्च नेता खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव


काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका स्थानीय नागरिकलाई राजधानी तेहरान छाडेर जान आह्वान गरेका छन् ।

आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रेषित गर्दै ट्रम्पले सबैलाई इरानको राजधानी तेहरान छाडेर जान आह्वान गरेका हुन् ।

इरानले इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ । धेरै इरानी अहिले तेहरान छाड्न चाहिरहेका छन् । तर धेरैले अन्य कुनै पनि ठाउँ सही नभएको बताउन थालेका छन् ।

ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न पनि सुझाव दिएका छन् । ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता खोमिनीलाई बिना शर्त आत्मसमर्पण गर्नु सबैभन्दा उपयुक्त भएको सुझाव दिएका छन् ।

उनदे नेता खोमिनीलाई मार्न सजिलो रहे पनि अहिले केही नगर्ने बताएको बीबीसीले जनाएको छ ।

गएको शुक्रवारदेखि इजरायलले इरानमा आक्रमण गरेपछि चलिरहेको युद्धमा इजरायलले इरानको बालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रमा नै प्रहार गरेको जनाएको छ । इजरायलले इफाहान लगायत इरानको तीन आणविक केन्द्रमा आक्रमण गरिरहेको छ ।

अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहायता र उपकरण प्रदान गर्दै आएको छ । तर इरानमाथिको पछिल्लो आक्रमणमा अमेरिका संलग्न नरहेको ट्रम्पले स्पष्ट पारेका छन् ।

यसैबीच शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनको महत्त्वपूर्ण शिखर बैठक चाँडै छाडेर ट्रम्प वाशिङ्टन फर्कका छन् ।

तेहरान खाली गराउन आह्वान गरेलगत्तै ट्रम्पले बीचमै जी सेभेन बैठक छाडेका हुन् ।

जी सेभेन देशका नेताहरूले विश्व व्यापार र युक्रेनविरुद्ध रुसी आक्रमणजस्ता विषयमा राष्ट्रपति ट्रम्पको पूर्ण ध्यान तानेर कुराकानी गर्न चाहिरहेका थिए।

तर राष्ट्रपति ट्रम्प पूर्व निर्धारितभन्दा एक दिन अगावै वाशिङ्टन फर्केका हुन् ।

जी सेभेन समूहमा अमेरिका, यूके, क्यानडा, इटली, फ्रान्स, जर्मनी, र जापान छन्। साथै भारत, अस्ट्रेलिया र ब्रजिलका नेताहरूलाई पनि आगन्तुकका रूपमा निम्त्याइएको छ।

इरानको सरकारी सञ्चार माध्यमले राजधानी तेहरानमा मङ्गलबार धेरै विस्फोटनहरू भएका विवरण दिएको छ।

इजरायलले त्यहाँको उत्तरपूर्वी क्षेत्रबाट मानिसहरूलाई घर छाडेर जान भने लगत्तै ती विस्फोटन भएका हुन्।

इजरायलमा पनि इरानले क्षेप्यास्त्र प्रहार गरेको सङ्केत पाएपछि मानिसहरूलाई सुरक्षित रहन बजाइएका साइरनका आवाज आएका छन्।