काठमाण्डु- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सम्झौता हुने वा अमेरिकाले सैन्य कदम चाल्ने भन्नेबारे आउँदो १० दिनभित्र विश्वले थाहा पाउने बताएका छन्।
वाशिङ्टन डीसीमा आयोजित आफ्नो शान्ति बोर्डको पहिलो बैठकमा उनले इस्लामिक गणतन्त्रसँग उसको आणविक कार्यक्रमबारे भइरहेको वार्ताका सन्दर्भमा १इ दिन भित्र इरानलाई खरानी बनाउने धम्की दिए ।
‘हामीले अर्थपूर्ण सम्झौता गर्नैपर्छ, नत्र परिणाम राम्रो नहुन सक्छ’ उनले भने ।
हालैका दिनमा अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। यद्यपि स्विट्जरल्यान्डमा अमेरिकी र इरानी प्रतिनिधिबीच भएको छलफलमा केही प्रगति भएका विवरणहरू पनि सार्वजनिक भएका छन्।
अमेरिकाको डेमोक्रेटिक र रिपब्लिकन पार्टीका केही सदस्यहरूले अमेरिकी संसद् कङ्ग्रेसको अनुमतिबिना इरानमा हुन सक्ने सैन्य कारबाहीको विरोध गरेका छन्।
त्यसको एक दिनअघि ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले इरानले अमेरिकासँग सम्झौता गर्नु धेरै बुद्धिमानी हुने चेतावनी दिँदै ट्रम्प अझै पनि तेहरानको आणविक कार्यक्रमबारे कूटनीतिक समाधानको आशा गरिरहेको बताएकी थिइन्।
ट्रम्पले शान्ति बोर्डको घोषणा गर्दा यसलाई गाजामा इजायल र हमासबीच दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न सहयोग गर्ने र पुनर्निर्माणको निगरानी गर्ने उद्देश्यले गठन गरिएको ठानिएको थियो।
तर पछिल्लो एक महिनामा यसको उद्देश्य केवल एक द्वन्द्वसम्म सीमित नभएर व्यापक भएको देखिएको छ। करिब दुई दर्जन देशहरू समेटिएको तथा ट्रम्पको अध्यक्षता रहेको उक्त बोर्डले संयुक्त राष्ट्रसङ्घलाई पछाडि पार्ने उद्देश्य राखेको हो कि भन्ने प्रश्न धेरैले उठाएका छन्।
गत वर्षको जुनमा अमेरिकाले इरानका तीन परमाणु केन्द्रहरूमा आक्रमण गरेको थियो। यसै साता ह्वाइट हाउसले आक्रमणका नयाँ विकल्पहरूबारे छलफल गरिरहेको विवरणहरू सार्वजनिक भएका थिए।
अमेरिकी सेनाले पछिल्ला साताहरूमा उक्त क्षेत्रमा आफ्नो उपस्थितिलाई बढाउँदै गएको छ, जसमा विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिङ्कनको परिचालन पनि समावेश छ।
तर ब्रिटेन सरकारले अमेरिकी सेनालाई इरानमा सम्भावित आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छैन।
मध्यपूर्वका अघिल्ला सैन्य कारबाहीहरूमा अमेरिकाले आरएएफ फेअरफोर्ड, ग्लोस्टरसायर र ब्रिटेनको बाह्य क्षेत्र डिएगो गार्सिआ तथा हिन्द महासागरको उपयोग गरेको थियो।
इरानले पनि आफ्ना सैन्य स्थलहरूलाई मजबुत बनाएको स्याटलाइट तस्बिरहरूले देखाएका छन्। सँगसँगै देशका सर्वोच्च नेता अयोतोल्लाह अली खामेनेईले अमेरिकी बललाई धम्की दिने सन्देशहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
उनको एउटा पोस्टमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपतिले लगातार अमेरिकाले इरानतर्फ युद्धपोत पठाएको छ। युद्धपोत पक्कै पनि खतरनाक सैन्य उपकरण हो तर त्यो युद्धपोतभन्दा खतरनाक हतियार हो जसले उक्त युद्धपोतलाई समुद्रको पिँधमा पुर्याइदिन सक्छ।’




प्रतिक्रिया