इरानमाथि अमेरिकी आक्रमण : विश्वभर थरिथरि प्रतिक्रिया, अमेरिकी राजनीतिमा गहिरो ध्रुवीकरण

इरानमाथि अमेरिकी आक्रमण : विश्वभर थरिथरि प्रतिक्रिया, अमेरिकी राजनीतिमा गहिरो ध्रुवीकरण


काठमाण्डु – अमेरिकाले इरानका आणविक क्षेत्रहरूमाथि आक्रमण गरेपछि विश्वभर तरंग उत्पन्न भएको छ । यसको विरोध र समर्थनमा विभिन्न प्रतिक्रियाहरू आएको छ ।

इरानमा आक्रमण भएपछि अमेरिकी राजनीतिमा ध्रुवीकरण पनि भएको छ। डेमोक्र्याटहरूले आक्रमणको आलोचना गरेका छन् भने रिपब्लिकनहरूले समर्थन जनाएका छन् ।

डेमोक्र्याट नेताहरूले ट्रम्पको निर्णयको आलोचना गर्दै युद्धको जोखिम बढेको र संसद्को स्वीकृति बिना सैन्य शक्ति प्रयोग गरेको आरोप लगाएका छन्।

तर रिपब्लिकन सिनेटरहरूले ट्रम्पको कदमको समर्थन गर्दै इरानलाई आणविक हतियार बनाउन नदिने निर्णयलाई उचित ठहराएका छन् ।

अमेरिकी संसद्का अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजले एक्समा लेख्दै भनेका छन्, ‘इरानमाथिको आक्रमणले युद्धको जोखिम निकै बढाएको छ। राष्ट्रपति ट्रम्पले देशलाई आफ्नो नियतबारे झुक्क्याए, संसद्बाट स्वीकृति नलिईकन सैन्य शक्ति प्रयोग गरे र अब सम्भावित विनाशकारी युद्धतर्फ देशलाई तान्ने जोखिम बढाएका छन्।’ त्यस्तै, डेमोक्र्याट सिनेटर बर्नी स्यान्डर्सले आक्रमणलाई गम्भीर रूपमा असंवैधानिक भनेका छन्। ‘अमेरिकालाई युद्धमा लैजाने अधिकार केवल अमेरिकी संसद्लाई मात्र छ। राष्ट्रपतिसँग त्यो अधिकार छैन,’ उनले भनेका छन् ।

अमेरिकाले इरानको फोर्डो, नातान्ज र इस्फहानमा रहेको आणविक स्थलहरूमा आक्रमणको गरेको छ।

अमेरिकी आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पको कार्यको प्रशंसा गर्दै शक्तिको माध्यमबाट शान्ति स्थापना हुने बताएका छन्।

नेतन्याहुले भनेका छन्, ‘पहिला शक्ति आउँछ, त्यसपछि मात्र शान्ति। आज राति, राष्ट्रपति ट्रम्प र संयुक्त राज्य अमेरिकाले अत्यन्त शक्तिशाली ढङ्गले काम गरे।’

यता, अमेरिकी आक्रमणको संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। अमेरिकाले गएराति इरानका आणविक स्थलमा बम हमला गरेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत चिन्ता प्रकट गरेका हुन्। उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘म आज अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीप्रति धेरै चिन्तित छु। यो कदमले पहिले नै धेरै नाजुक अवस्थामा रहेको तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा भएको क्षेत्रमा तनाव बढाउन सक्छ।’
उनले अगाडि लेखेका छन्, ‘यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जान सक्ने डर बढ्दै गएको छ। यसले नागरिक, सम्पूर्ण क्षेत्र र विश्वलाई ठूलो क्षति पुर्‍याउन सक्छ ।’

गुटेरेसले संयुक्त राष्ट्रसंघका सदस्य देशहरूलाई परिस्थितिलाई अझ बिग्रनबाट रोक्न र संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन्।

यस्तै इजरायली विदेशमन्त्री गिदोन सारले ट्रम्पले आक्रमण गर्ने साहसिक निर्णय लिएको र त्यसकै कारणले उनले आफ्नो नाम इतिहासका पानामा लेखाउन सफल भएको बताएका छन्।

उता हमासले अमेरिकाद्वारा इरानमा गरिएको आक्रमणको निन्दा गरेको छ। हमासले ती आक्रमणहरूलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामाथि प्रत्यक्ष आक्रमण भनेको छ।

यता ईरानको परमाणु ऊर्जा संगठन (एईआईओआई)ले अमेरिकाद्वारा इरानका परमाणु स्थलहरूमा गरिएको आक्रमणको निन्दा गरेको छ।

एईआईओआईले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)को पनि आलोचना गर्दै यस सम्पूर्ण घटनामा आईएईए पूर्णतः उदासीन रहेको र यसमा उसको पनि मिलीभगत देखिएको उल्लेख गरेको छ ।