अमेरिकाले गर्‍यो इरानमा आक्रमण, ३ वटा परमाणु केन्द्रमा गोलाबारी

अमेरिकाले गर्‍यो इरानमा आक्रमण, ३ वटा परमाणु केन्द्रमा गोलाबारी


काठमाण्डु- इरानमा अमेरिकाले पनि आक्रमण गरेको छ । इजरायलसँग युद्ध चर्किरहेको बेला अमेरिकाले पनि इरानमाथि आक्रमण गरेको हो ।

इरानको फोर्दोसहित नतान्ज र इस्फहान गरी तीन वटा परमाणु केन्द्रमा आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् । ट्रम्पले अमेरिका इरानका तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको उल्लेख गरेका छन् ।

ट्रम्पका अनुसार अमेरिकाद्वारा फोर्डो , नतान्ज र इस्फहानस्थित आणविक केन्द्रहरूमा बम आक्रमण गरिएको हो। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भनेका छन् , ‘हामीले इरानका तीन आणविक साइटहरूमा निकै सफल आक्रमण सम्पन्न गर्यौँ। सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर निस्किएका छन् ।’

इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेको छ । अब शान्तिका लागि पहलकदमी अगाडी बढाउनुपर्ने समय आएको अमेरिकी राष्ट्रपतिको भनाइ छ । इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्नेमा उनले जनाएका छन् ।

इजरायलले इरानमा गएको जुन १३ देखि आत्रमण शुरु गरेको थियो । यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने या नहुने छिट्टै निर्णय लिने बताएका थिए । इरानमाथि अमेरिकी आक्रमणलगत्तै उनले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । सम्बोधनमा इरानमाथिको आक्रमण र अमेरिकी रणनीतिको विवरण आउनसक्ने अपेक्षा गरिएको छ ।

यस्तै ट्रम्पको सम्बोधनले आगामी कूटनीतिक र सैन्य स्थिति कस्तो बन्नेछ भन्ने सङ्केत दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजीराले जनाएको छ।