काठमाण्डु – इजरायल र इरानबीच जारी युद्धमा अमेरिकाको प्रवेश पछि यसको प्रभाव मध्यपूर्वका देशहरूमा पनि परेको छ ।
इजरायल र इरानबची जारी श्रृंखलाबद्ध हवाई आक्रमणले मध्यपूर्वमा तनावलाई थप चर्काएको छ ।
शनिबार राति इरानका परमाणु केन्द्रमा आक्रमण गरेर अमेरिका प्रत्यक्ष रूपमा मध्यपूर्वको द्वन्द्वमा सहभागी भएको छ । यसबाट इरान र इजरायलबिच जारी युद्ध नयाँ र गम्भीर चरणमा प्रवेश गरेको छ ।
यसअघि ‘पर्ख र हेर’को अवस्थामा रहेको अमेरिकाले अत्याधुनिक बी–२ बमवर्षक विमानबाट इरानका ३ वटा परमाणु केन्द्रमा आक्रमण गरेको थियो ।
इरानले परमाणु सामग्री अन्यत्र सार्न सक्ने देखिएकाले अमेरिकाले तत्कालै आक्रण गरेको हो ।
ट्रम्पले इरानमाथिको हवाई आक्रमण सफल भएको र तीनवटा परमाणु केन्द्र ध्वस्त भएको दाबी गरेका छन् ।
ट्रम्पले अब यो युद्ध समाप्त गर्न इरान सहमतिमा आउनुपर्ने बताएका छन् ।
इरानी अधिकारीहरूले भने अमेरिकी आक्रमण भएका परमाणु केन्द्रमा ठुलो क्षति नभएको दाबी गरेका छन् ।
अमेरिकी आक्रमणको प्रमुख निसाना इरानको फोर्दाेस्थित युरेनियम प्रशोधन गर्ने एउटा आणविक प्लान्ट रहेको थियो । यसैगरी नटान्ज र इस्फाहानमा रहेका परमाणु केन्द्रमा पनि अमेरिकाले आक्रमण गरेको छ । ती परमाणु केन्द्रमा आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण बाहिर आएको छैन । फोर्दो इरानको राजधानी तेहरानको दक्षिणी क्षेत्रमा पर्छ ।
त्यहाँ जमिनमुनि निकै गहिराइमा रहेको युरेनियम प्रशोधन गर्ने उक्त आणविक प्लान्टलाई नष्ट गर्न सक्ने ‘बंकर बस्टर’ बम अमेरिकासँग मात्र भएको मानिन्छ । झन्डै १३ हजार किलोग्राम तौलको उक्त बमले जमिनमुनि दुई सय फिट तलसम्मको भूसतहलाई छेडन सक्ने क्षमता राख्छ । अमेरिकाले उक्त बम प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
इरानले परमाणु केन्द्रहरूमा बम विस्फोट गराउनुलाई अन्तर्राष्ट्रिय कानुनको ‘बर्बर उल्लंघन’ भनेको छ ।
इरानका विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी आक्रमणले दूरगामी परिणाम निम्त्याउने चेतावनी दिएका छन् । उनले आफ्नो सम्प्रभुता रक्षा गर्न सबै विकल्प प्रयोग गर्ने अधिकार इरानसँग रहेको बताएका छन् ।
इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डालाई निसाना बनाउने चेतावनी दिएको छ । मध्यपूर्वमा बहराइन, इजिप्ट, इराक, जोर्डन, कुवेत, कतार, साउदी अरेबिया, युएईलगायतका १९ स्थानमा अमेरिकी सैन्य अड्डा छन् । अल जजिराका अनुसार इरानमा इजरायली आक्रमणबाट चार सयजनाभन्दा बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया