इरान-इटलीबीच कूटनीतिक द्वन्द्व


एजेन्सी – इरानकी २२ वर्षीया महसा अमिनीको धार्मिक प्रहरीको हिरासतमा भएको मृत्युलाई लिएर देशभर विरोध प्रदर्शन भइरहेका बेला इरान र इटलीबीच कूटनीतिक द्वन्द्व बढेको छ ।

रोमले इरानमा जारी विरोध प्रदर्शनको समर्थन गरेको विषयलाई उसको हस्तक्षेपवादी नीतिको विरोध गर्दै तेहरानले इटलीका राजदूतलाई बोलाएर विरोध जनाएको छ । रोमले अघिल्लो दिन इरानी कूटनीतिज्ञलाई बोलाएर तेहरानको आलोचना गरेपछि उसले पनि इटालीका राजदूतमार्फत विरोध जनाएको हो ।

उपयुक्त पोशाक नलगाएको अभियोगमा इरानको धार्मिक प्रहरीको पक्राउमा परेकी अमिनीको सेप्टेम्बर १६ मा हिरासतमा मृत्यु भएपछि इरानभर विरोधप्रदर्शन भइरहेको छ । यस क्रममा सयौँले ज्यान गुमाएका छन् भने हजारौँ पक्राउ परेका छन् । देशमा सय दिनभन्दा बढीको विरोध प्रदर्शन जारी रहेका बेला इरानले बेलाइत, फ्रान्स र जर्मनीलगायत पश्चिमा देशका धेरै राजदूतलाई बोलाएर असहमति जनाएको छ ।

तेहरानले इरानको आन्तरिक मामिलामा इटालीका केही अधिकारीहरूको हस्तक्षेपकारी वक्तव्यको विरोध गर्न इटालीका राजदूत ज्युसेप पेरोनलाई बोलाएको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ । मानव अधिकारका सम्बन्धमा इटालीको दोहोरो मापदण्ड र दृष्टिकोण इरानका निम्ति अस्वीकार्य भएको विदेश मन्त्रायले स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement