काठमाण्डु – इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको अन्त्येष्टि शनिबार हुँदैछ । उनको पार्थिव शरीरलाई उनको मृत्यु भएको स्थानमा लगिएको छ ।
इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी)का अनुसार कुनै पूर्वसूचना नदिई आयोजित कार्यक्रममा खामेनीको शव राखिएको कफिनलाई उनको शहादत भएको स्थानमा पुर्याइएको हो ।
इरानले शनिबार र आइतबार राजधानी तेहरानमा दुई दिने सार्वजनिक श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ ।
इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)का अनुसार कार्यक्रममा २ करोडसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरिएको छ, जसले इरानको इतिहासकै सबैभन्दा ठूलो सार्वजनिक जमघटमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
नयाँ सर्वोच्च नेता मोजतबा खामेनी भने सुरक्षा जोखिमका कारण आफ्ना पिता अली खामेनीको अन्त्येष्टि समारोहमा सार्वजनिक रूपमा सहभागी नहुने जनाइएको छ । इजरायलबाट हुन सक्ने सुरक्षा चुनौती र निगरानीको जोखिमका कारण यस्तो निर्णय गरिएको हो ।
इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार शनिबार बिहान ६ बजेदेखि तेहरानस्थित इमाम खोमेनी ग्रान्ड प्रेयर ग्राउन्डमा सर्वसाधारणका लागि श्रद्धाञ्जली कार्यक्रम सुरु हुनेछ भने आइतबार बिहान अन्तिम प्रार्थना आयोजना गरिनेछ । त्यसपछि राजधानीको फराकिलो मार्ग हुँदै शवयात्रा निकालिनेछ ।
त्यसपछि खामेनीको शव जुलाई ९ मा मसहद सहरमा गाडिनेछ।
आईआरजीसीको तेहरान कमान्डका प्रमुख ब्रिगेडियर जनरल हसन हसनजादेहका अनुसार अपेक्षित भीडका कारण एउटै सडक प्रयोग गर्न नसकिने निष्कर्षपछि फराकिलो क्षेत्रमा शवयात्रा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रमका लागि मेट्रो, बस सेवा, स्वास्थ्य सेवा, सुरक्षा संयन्त्र तथा अन्य सरकारी निकाय पूर्ण रूपमा परिचालन गरिएको छ । सहभागीहरूका लागि खानेपानी, भोजन, स्वास्थ्य सेवा, सरसफाइ र अन्य आवश्यक सुविधा उपलब्ध गराइने जनाइएको छ ।
इरानी अधिकारीहरूले समारोहमा १ करोड २० लाखदेखि १ करोड ५० लाखसम्म सहभागी हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् भने केही मूल्यांकनले यो संख्या २ करोडसम्म पुग्न सक्ने देखाएको छ ।
अयातोल्लाह अली खामेनी यस वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका थिए । त्यसपछि उनका छोरा मोजतबा खामेनीलाई इस्लामिक गणतन्त्र इरानको नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त गरिएको थियो ।
यसबीच इरानले आफ्ना पूर्वसर्वोच्च खामेनीको अन्त्येष्टिमा अमेरिका–इजरायलले आक्रमण गरे उचित जवाफ दिइने चेतावनी दिएको छ।
बीबीसी मनिटरिङका अनुसार इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिका, इजरायल तथा उनीहरूका सहयोगीलाई खामेनीको अन्त्येष्टिअघि इरानविरुद्ध कुनै पनि कारबाही नगर्न चेतावनी दिएका हुन्।




प्रतिक्रिया