काठमाण्डु – इरानले अमेरिकाको युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ । उसले राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्तहरूमा युद्ध अन्त्य नगर्ने स्पष्ट पारेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले शान्ति वार्तामा भाग लिइरहेको र गत महिना इजरायल र अमेरिकाले सुरु गरेको युद्ध अन्त्य गर्न सम्झौता गर्न आतुर रहेको भनाइ आएपछि इरानले उक्त प्रस्ताव अस्वीकार गरेको हो ।
बुधवार इरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाले विभिन्न प्रस्तावहरू सहितसन्देश पठाए तापनि कुनै वार्ता नभएको बताएका छन्।
इरानी मन्त्रीले वाशिङटनले वार्ताको कुरा गर्नु र अब बिनासर्त आत्मसमर्पणको माग नगर्नु हार स्वीकार्नु रहेको बताउँछन्।
उनले तेहरानले युद्ध आफ्ना पाँच सर्तहरू अनुरूप सकियोस् भन्ने चाहेको बताउँदै त्यसमा अमेरिका र इजरायलले फेरि आक्रमण नगर्ने सुनिश्चितता र इरानीहरूले भोगेको क्षतिको क्षतिपूर्ति समावेश रहेको बताए।
इरानका पाँच सर्तहरूमा इरानविरुद्ध भइरहेका सबै सैन्य हमला र विशिष्ट व्यक्तिहरूको हत्या तुरुन्त बन्द हुनुपर्ने, भविष्यमा फेरि कहिल्यै युद्ध नहुने गरी अन्तर्राष्ट्रिय रूपमा भरपर्दो र ठोस सुनिश्चितता हुनुपर्ने उल्लेख छ । त्यस्तै, यस युद्धमा भएको सम्पूर्ण भौतिक र मानवीय क्षतिको उचित मुआब्जा पाउनुपर्ने, सबै मोर्चाहरूमा भइरहेको युद्ध पूर्ण रूपमा अन्त्य हुनुपर्ने र होर्मुज जलमार्गमा इरानको अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने रहेको बताइएको छ ।
तर ट्रम्पले इरानले वार्ता गरिरहेको कुरामा जोड दिँदै उनीहरू आफ्नै मानिसहरूद्वारा मारिने बुझेर त्यसो भन्न डराइरहेको बताएका छन्।
बुधवार बोल्दै ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले विगत तीन दिनदेखि इरानसँग उपयोगी वार्तामा व्यस्त रहेको बताइन्।
उक्त भनाइ इरानी विदेशमन्त्री अब्बास अराग्चीको अभिव्यक्तिको लयको पूरै विपरीत छ। अराग्चीले हाल वार्ताको कुनै मनसाय नभएको र देशले आफ्नो प्रतिरक्षा गरिरहने बताएका छन्।
उनले अमेरिका र इरानबीच मित्र राष्ट्रहरूमार्फत् आदानप्रदान भएका सन्देशहरूलाई संवाद मान्न नसकिने बताए।
‘यो इजरायलको युद्ध हो र यस क्षेत्रका जनता र अमेरिकाका जनताले यसको मूल्य चुकाइरहेका छन्’ अराग्चीले भने।
युद्ध अन्त्य गर्ने प्रस्तावहरूका बारेमा समेत विरोधाभासपूर्ण विवरणहरू आएका छन्। बुधवार इरानले युद्धविराममा पुग्न अमेरिकाबाट १५ बुँदे योजना प्राप्त गरेको विवरण आएको थियो।
तेहरानका तर्फबाट एक इरानी वरिष्ठ राजनीतिक–सुरक्षा अधिकारीलाई सरकारी प्रेस टीभीले उद्धृत गर्दै युद्ध अन्त्य गर्न पाँच सर्तहरू रहेको जनाएको छ।
त्यसमा युद्धका क्षति र क्षतिपूर्तिको भुक्तानी तथा सबै मोर्चाहरूमा युद्धको अन्त्य समावेश छ।
तर दुवै पक्षबाट लडाइँ जारी छ।




प्रतिक्रिया