इरान-अमेरिका शान्ति वार्ता टुङ्गियो, भएन सहमति

इरान-अमेरिका शान्ति वार्ता टुङ्गियो, भएन सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा भएको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षविहीन भएको छ । वार्ताबाट कुनै ठोस सहमति हुन नसकेको बीबीसीले जनाएको छ ।

पाकिस्तानको मध्यस्थतामा झन्डै २१ घण्टा लामो चलेको वार्तापछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको शान्तिको प्रयासको प्रशंसा गर्दै वार्ताको असफलतामा उनीहरूको कुनै कमजोरी नभएको बताएका छन् ।

 भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ प्रस्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको बताए। उनले भने, ‘हामीले निकै लामो समय खर्चिएर लचिलो बन्ने प्रयास गर्‍यौँ, तर इरानी पक्ष हाम्रा सर्तहरू मान्न तयार भएन।’ 

यो ऐतिहासिक वार्ताले संवादको ढोका खुला राखे पनि तत्काल कुनै सहमति नजुट्नुले मध्यपूर्व क्षेत्रमा तनाव कायमै रहने सङ्केत दिएको छ ।

उपराष्ट्रपति भ्यान्सले अमेरिका सद्भावका साथु वार्तामा सहभागी भए पनि इरानबाट आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

इरानले आणविक हतियार विकास नगर्ने र त्यसका लागि आवश्यक साधनहरू नखोज्ने ठोस प्रतिबद्धता चाहिएको भए पनि अहिलेसम्म त्यो नदेखिएको उनको भनाइ छ ।

यसैबीच इरानी विदेश मन्त्रालयले वार्तालाई सकारात्मक भन्दै अमेरिकालाई आफ्ना अत्यधिक माग अघि नसार्न आग्रह गरेको छ । इरानले आफ्ना वैध अधिकार र हित स्वीकार गर्नुपर्नेमा इरानले जोड दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामले खासै फरक नपर्ने टिप्पणी गर्दै जे भए पनि हामी जित्छौँ भन्ने प्रतिक्रिया दिएका छन् । वार्ताको मुख्य केन्द्रबिन्दु इरानको आणविक कार्यक्रम, हर्मुज जलमार्ग खोल्ने र क्षेत्रीय तनाव अन्त्य गर्ने विषयहरू थिए ।

यसै क्रममा अमेरिकी सेनाले हर्मुजमा नौसैनिक गतिविधि बढाएको जनाएको छ, यद्यपि इरानले त्यसलाई अस्वीकार गरेको छ । यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्धको अभियान अझै नसकिएको सङ्केत दिएका छन् ।

उनले लेबनानसँग दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए पनि इरानविरुद्ध ुअझै धेरै गर्न बाँकी रहेकोु पनि उल्लेख गरेका छन् ।