युद्ध अन्त्यका लागि इरानसँग उच्च तहको वार्ता भएको ट्रम्पको दाबी, इरान भन्छ-ट्रम्पको दाबी भ्रम मात्र हो

युद्ध अन्त्यका लागि इरानसँग उच्च तहको वार्ता भएको ट्रम्पको दाबी, इरान भन्छ-ट्रम्पको दाबी भ्रम मात्र हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दाबी गरेका छन्।

उनले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरेलगत्तै यस्तो घोषणा गरेका हुन्। बिहीबार राति इरानविरुद्ध तय गरिएको प्रस्तावित हवाई तथा बमबारी आक्रमण रद्द गरिएको ट्रम्पको दाबी छ । यसअघि उनले इरानमाथि भीषण बमबारी गर्ने र उसको तेल निर्यातको मुख्य केन्द्र ‘खर्ग टापु’ कब्जा गर्ने धम्की दिएका थिए।

ट्रम्पले सम्झौताको कागजातहरू अन्तिम चरणमा रहेको र सम्भवतः युरोपमा एक समारोहबीच यसमा हस्ताक्षर गरिने बताए।

तर उनले आफ्नो सामाजिक सञ्जालुट्रुथमा एक स्टाटस लेख्दै उक्त हमला रोकेको जानकारी दिएका छन्, उनले भनेका छन्, ‘इरानको शीर्ष नेतृत्वसँगको वार्ता उच्च तहमा पुगेको र यसले स्वीकृति पाएको कुरालाई ध्यानमा राख्दै, अमेरिकी राष्ट्रपतिको हैसियतमा मैले आज साँझ इरानविरुद्ध हुने भनिएको आक्रमण र बमबारी रद्द गरेको छु। वार्ता र अन्तिम बुँदाहरूमा सम्बन्धित सबै पक्षले सहमति जनाइसकेका छन्।’

यता ट्रम्पले इरानसँग युद्ध रोक्ने शान्ति सम्झौता भइसकेको र यसै साता हस्ताक्षर हुने दाबी गरे पनि इरानले भने त्यसलाई अस्वीकार गरेको छ। इरानले ट्रम्पको यो दाबीलाई अड्कलबाजीको संज्ञा दिँदै अमेरिकासँग अझैसम्म कुनै पनि सम्झौता फाइनल नभएको स्पष्ट पारेको हो।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले आफ्नो देश राष्ट्रिय हित र आफ्ना ‘रेड लाइन्स’ (अन्तर्निहित सर्तहरू) मा कुनै पनि हालतमा पछि नहट्ने र सम्झौताको मस्यौदामा पूर्ण सहमति नभएसम्म औपचारिक घोषणा नगरिने बताएका छन्।

इरानले ट्रम्पको यो दाबीको केही घण्टाभित्रै खण्डन गरेको छ। इरानी आधिकारिक समाचार एजेन्सी इर्नाका अनुसार विदेश मन्त्रालयका प्रवक्ता बगाइले भने ‘इस्लामिक रिपब्लिक अफ इरानले अहिलेसम्म कुनै पनि सम्झौतालाई अन्तिम रूप दिएको छैन। जबसम्म हाम्रा उच्च अधिकारीहरूद्वारा सम्झौताको मस्यौदाका बुँदाहरूमा पूर्ण सहमति र स्वीकृति हुँदैन, तबसम्म यसलाई फाइनल मान्न सकिँदैन।’

अमेरिकाले दबाब सिर्जना गरेर इरानलाई झुक्याउन खोजेको भन्दै इरानी अधिकारीहरूले कुनै पनि सम्झौता सम्मानजनक र बराबरीको हैसियतमा मात्र स्वीकार्य हुने बताएका छन्।