काठमाण्डु – गठबन्धनभन्दा एमाले बलियो देखिएको काठमाण्डु क्षेत्र नम्बर ५ मा यसपटक ईश्वर पोखरेललाई प्रदीप पौडेलले टक्कर दिँदैछन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्रसहित २९ जना उम्मेदवार प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका छन् । तर, अघिल्लो ०७४ को निर्वाचनमा विजयी भएका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका तर्फबाट प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
यस्तै, अघिल्लो निर्वाचनमा काठमाण्डु महानगरपालिकाको मेयरमा २३ हजार बढी मत ल्याएकी रञ्जु दर्शना, प्राध्यापक गोपीलाल न्यौपाने पनि यही क्षेत्रबाट उम्मेदवार बनेका छन् । यस क्षेत्रमा अरु उम्मेदवारभन्दा पोखरेल, पौडेल र रञ्जुको चर्चा बढी छ ।
अघिल्लो पटकको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई हराएर विजयी भएका पोखरेललाई यसपटक नयाँ उम्मेदवारले चुनौती थपिदिएका छन् । युवा उम्मेदवारलाई हराएर जित निकाल्न पोखरेललाई सहज नहुने आंकलन गरिँदैछ । तर, गत स्थानीय तहको चुनावमा आएको मतपरिणामलाई हेर्ने हो भने यो क्षेत्रमा एमाले नेता पोखरेल बलियो देखिन्छन् ।
यस क्षेत्रमा पर्ने काठमाण्डु महानगरका चार, बूढानीलकण्ठ र टोखा नगरपालिकाका १५ वडामध्ये ११ मा वडाध्यक्षसहित एमालेले जितेको थियो । एमालेका वडाध्यक्षका उम्मेदवारले १९ हजार ७ सय ३ मत पाएका थिए । कांग्रेसले १४ हजार ८ सय ५३ मत पाउँदा सत्ता गठबन्धनका दल नेकपा माओवादी केन्द्रको मत १ हजार ८ सय २७ छ भने नेकपा एकीकृत समाजवादीको १ हजार १ सय ६१ मत छ । त्यो मत जोड्दा गठबन्धनको मत १७ हजार ८ सय ८४ हुन्छ ।
काठमाण्डु– ५ मा काठमाण्डु महानगरपालिकाको वडा २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाको वडा ३,४,५,६ र ७ का साथै टोखा नगरपालिकाको २,३,४,५, ६ र ७ वडा पर्छन् ।
यी तीनवटा नगरपालिकामा प्रमुखको नतिजा हेर्ने हो भने दुईवटा नगरपालिकामा एमाले र महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षको चुनावी परिणाम हेर्ने हो भने पनि एमाले बलियो देखिन्छ । एमालेले ११ वटा वडा जितेको छ । कांग्रेसले तीनवटा र स्वतन्त्रले दुईवटा वडा जितेका छन् ।
स्थानीय चुनावमा वडाअध्यक्षहरुले पाएको नतिजाअनुसार गठबन्धनभन्दा एमाले १ हजार ८ सय १९ मतले अगाडि छ । तर ४ मंसिरको चुनावमा पनि यही मत कायम रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।
संसदीय निर्वाचनका अनुभवी खेलाडी मानिने पाेखरेल पार्टीको प्रभाव र आफ्नो कामको कारणले नै यो क्षेत्रमा एमालेको जित सहज रहेको दावी गर्छन् । यता कांग्रेस उम्मेदवार पौडेल यो क्षेत्रमा कार्यकर्ता शैलीका भन्दा पनि बौद्धिक मतदाता भएकाले केही समयमा नै मतको ‘प्यार्टन’ परिवर्तन हुन सक्ने विश्वास गर्छन् ।




प्रतिक्रिया