काठमाण्डु – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चाँडै समाधान हुने बताएका छन् ।
बिहीबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै मन्त्री पोखरेलले नेकपाभित्रको विवाद अलौना बिलौना गरेर समाधान नहुने बताएका छन् ।
‘अलौना बिलौना गरेर नेकपाको विवाद समाधान हुँदैन । कोही देवदूत आएर समाधान हुँदैन । यसको समाधान नेकपाका नेताहरुले गर्ने हो’, उनले भने ।
उनले महाधिवेशनसम्म दुवै अध्यक्ष सहमतिको आधारमा अगाडि बढ्ने संकल्प गरिसकेको बताएका छन् । उनले पार्टी एकताताका दुवै अध्यक्षले महाधिवेशनसम्म मिलेर जाने सहमित गरेको स्मरण गरेका छन् ।
‘तत्कालिन एमाले र नेकपा माओवादीका साथीहरुले के बुझ्नुपर्छ– पार्टी एकताताका भएको सहमति अनुसार पार्टी अगाडि बढ्छ, नत्र दुर्भाग्य हुन्छ’, उनले भने ।
उनले सरकार व्यक्तिले नभई पार्टीले नै चलाउने बताएका छन् । ‘दलिय व्यवस्थामा सरकार चलाउने पार्टीले हो । सरकार घोषणापत्रअनुसार चलेको छ कि छैन ? सरकारका दैनिक कुराहरुमा पार्टीको एजेण्डाअनुसार चलेको छ कि छैन् त्यो हेर्नुपर्छ’, उनले भने ।
उपप्रधानमन्त्री पोखरेलले पार्टीभित्र असन्तुष्ट रहेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमका मागहरु समयक्रमअनुसार पूरा गर्दै लैजाने बताएका छन् ।




प्रतिक्रिया