काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन् । यसअघि रक्षामन्त्री रहेका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त भएका थिए ।
प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको कार्यभार आफैँले सम्हालिरहेका छन् ।
पदभार सम्हाल्दै मन्त्री पोखरेलले आफूले अहिलेसम्मकै नयाँ जिम्मेवारी पाएको बताए । उनले मन्त्रीस्तरको व्यक्तिले प्रधानम्न्त्री कार्यालय सम्हालेको यो पहिलो पटक भएको बताए ।
‘मेरो तहको व्यक्तिलाई यस्तो जिम्मेवारी दिइएको मलाई थाहा छैन । संभवतः यो नेपालको मन्त्रिपरिषद्मा नौलो अभ्यास हो’, उनले भने ।
उपप्रधानमन्त्री पोखरेलले कर्मचारीमा कामचोर प्रवृति देखिएको बताए । उनले गन्थन र गुनासोमा मात्रै अल्मलिन नहुने बताए । मन्त्री पोखरेलले स्टक्चरमै देखिने गरी काम गर्नुपर्ने बताए ।
मन्त्री पोखरेलका अनुसार अब कार्यालय समयमा काम नगर्ने र दिउँसै घर फर्किने कर्मचारीको संख्या बढ्दो मात्रामा रहेको छ । उनले अब कामचोर कर्मचारीमाथि कडा निगरानी गर्ने संकेत गरेका छन् ।
‘गन्थन र गुनासोमा मात्रै अल्मलनु हुन्न । अमूर्त कुरा गर्ने मात्रै होइन, स्टक्चरमै देखिने गरी काम गर्नुपर्छ । म त्यसैका लागि यहाँ आएको हुँ’, उनले भने, ‘लोकप्रिय कार्यक्रम हेलो सरकार के गर्दैछ ? कर्मचारीहरु ढलकढलक ११/१२ बजेतिर आउने अनि चार/पाँच नबज्दै फर्कने काम भएको छ ।’




प्रतिक्रिया