काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच भेटवार्ता भएको छ । अस्त्रिदले उपप्रधामन्त्री पोखरेलबीच मंगलबार भेटवार्ता भएको हो । राजकुमारी नेपालको साताव्यापी भ्रमणका लागि आइतबार आएकी थिइन् ।
रक्षामन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पोखरेलले बेल्जियमकी राजकुमारीलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै नेपालले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा नेपाल भ्रमणमा आएकोमा खुसी व्यक्त गरेका छन् ।
भेटका अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले नेपाल र बेल्जियमबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्धलाई दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत थप फराकिलो, प्रगाढ र प्रतिफलमुखी बनाउन आवश्यक रहेको कुरा बताएका छन् ।
युरोपियन युनियनभित्रको एक महत्त्वपूर्ण राष्ट्र बेल्जियमसितको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले सदैव उच्च महत्त्व दिएको कुरा उल्लेख गर्दै मन्त्री पोखरेलले बेल्जियम सरकारले नेपालको आर्थिक¸ सामाजिक विकासमा पुर्¬याएको सहयोगका लागि नेपाली जनता र नेपाल सरकारको तर्फबाट बेल्जियम सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।
यस क्रममा उनले राजक’मारी एस्ट्रिड अध्यक्ष रहेको बेल्जियमको डामिन फाउण्डेसनले नेपालका क्षयरोग तथा कुष्ठरोगबाट ग्रस्त बिरामीहरूको स्वास्थ्योपचारमा उपलब्ध गराएको सहयोग एवं यी रोगहरूलाई निर्मूल पार्न प्रदान गरेको सहायताको लागि आभार व्यक्त गरे ।
उनले लामो राजनैतिक संक्रमणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको र अब मुलुकको ध्यान आर्थिक समृद्धितर्फ मोडिएको कुरा चर्चा गर्नुहुँदै वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सोचलाई कार्यान्वयनमा उतार्न सबै मित्रराष्ट्रहरूबाट सहयोगको अपेक्षा लिइएको विचार व्यक्त गरे ।
भेटवार्ताका क्रममा बेल्जियमकी राजकुमारीले बेल्जियम र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रको रूपमा रहेको चर्चा गर्दै नेपालमा हालका दिनमा राजनैतिक स्थिरता कायम भएकोमा खुशी व्यक्त गरिन् ।
आफू अध्यक्ष रहेको फाउण्डेशनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा नेपाल लगायतका मुलुकहरूमा कुष्ठरोग र क्षयरोगको निवारणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गरिरहेको र यसलाईआगामी दिनमा पनि निरन्तरता दिइने कुरा व्यक्त गरिन् । नेपाल बारुदी सुरुङबाट मुक्त भएकोमा खुशी व्यक्त गर्दै उनले नेपाल चाँडै नै ओटावा अधिवेशनको पक्ष राष्ट्र बन्नेमा आफू आशावादी रहेको विचार व्यक्त गरिन् ।
नेपाल र बेल्जियमबीच आगामी दिनमा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन दुई देशबीच व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै जान आवश्यक रहेको र यसका लागि आफूले सक्दो पहल गर्ने कुरा उहाँले भेटवार्ताका क्रममाव्यक्त गरिन् ।
शिष्टाचार भेटका अवसरमा राजकुमारीका श्रीमान्, बेल्जियमका लागि नेपालका महामहिम राजदूत, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।




प्रतिक्रिया