रक्षामन्त्री पोखरेल र चिनियाँ रक्षामन्त्रीबीच सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर

रक्षामन्त्री पोखरेल र चिनियाँ रक्षामन्त्रीबीच सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षा मन्त्री वे फेन्गेबीच सैन्य सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।

चीनका राष्ट्रपति सीचिङफिनको असोजमा भएको नेपाल भ्रमणका अवसरमा चीनले नेपाली सेनालाई १५० मिलियन युयान सहयोग गर्ने प्रस्ताव गरेका थिए । सोहीअनुसार आज नेपाल र चीन सरकारबीच यससम्बन्धी औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौताअन्तर्गत मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणको आधारमा प्रोटोकलमा समझदारी गरेबमोजिम आगामी तीन वर्षको अवधिमा नेपाललाई हस्तान्तरण हुनेछ ।

गत वर्षको चीन भ्रमणका क्रममा पनि दुई देशका रक्षा मन्त्रीहरूबीच नेपाली सेनालाई पन्ध्र करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा सो कार्यान्वयनको चरणमा रहेको छ ।

उक्त सहायता सम्झौतामा हस्ताक्षर हुनुपूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री र चीनका रक्षा मन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील¸ शान्तिपूर्ण सहअस्तित्व¸ पारस्परिक सम्मान र एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको बताउँदै नेपाल र चीनबीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई भर्खरै सम्पन्न चीनका महामहिम राष्ट्रपतिको राजकीय भ्रमणबाट थप उचाइमा पुर्‍याउन र दुई देशबीच सम्पर्क र सहयोग विस्तार गर्न योगदान गरेको कुरा बताए ।

उनले चीनले नेपालको आर्थिक सामाजिक विकासमा निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि चीन सरकारप्रति धन्यवाद व्यक्त गरे । नेपाल¬(चीनबीचको मित्रतालाई प्रवर्द्धन गर्ने कुरा दुई देशका जनताको विकास¸ समृद्धि र पारस्परिक हितलाई प्रवर्द्धन गर्ने साझा उद्देश्यमा केन्द्रित रहेको कुरा पनि उहाँले भेटवार्ताका क्रममा राखे ।

नेपाल एक चीन नीतिको पक्षमा सदैव प्रतिबद्ध रहेको कुरा व्यक्त गर्दै उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले नेपालले आफ्नो भूमि तथा सीमा नाकामा छिमेकी मुलुकहरू विरुद्ध कुनै पनि गतिविधि हुन नदिने नीति दृढताका साथ अवलम्बन गर्दै आएको कुरा राखे ।

भेटवार्ताका क्रममा चीनका रक्षा मन्त्री फेङ्गेले नेपाल र चीनबीच प्राचीन कालदेखि नै सुमुधर, मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उहानमा आयोजित ७ औं मिलिटरी वल्र्ड गेम र बेइजिङ्गमा आयोजना हुन गइरहेको ९ औं जियङसान फोरममा नेपालबाट उच्चस्तरमा भएको सहभागिताका लागि चीन सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

उनले नेपालको आर्थिक, सामाजिक तथा सैन्य क्षेत्रको विकासका लागि सहयोग उपलब्ध गराउन पाएकोमा चीनको तर्फबाट प्रसन्नता व्यक्त गरे । चीनको जनमुक्ति सेना र नेपाली सेनाबीच अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उनले नेपाली सेनाको क्षमता विकासका लागि चीन सरकार सदैव सकारात्मक रहेको विचार व्यक्त गरे ।

वार्ताका क्रममा चीनका राष्ट्रपतिबाट हालसालै भएको नेपालको राजकीय भ्रमणले दुई मुलुक बीचको सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउन सहयोग पुगेको विचार उनले व्यक्त गरे ।

भेटवार्ताको अन्त्यमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले चीनका रक्षा मन्त्रीलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा दिए । चीनका रक्षा मन्त्रीले सो निमन्त्रणा सहर्ष स्वीकार गर्दै उक्त भ्रमणका लागि सकारात्मक रहेको र उपयुक्त समयमा उनी अथवा चीनको रक्षा मन्त्रालयको तर्फबाट अन्य उच्चस्तरीय प्रतिनिधि मण्डलले नेपाल भ्रमण गर्ने कुरा व्यक्त गरे ।

चीनका रक्षा मन्त्रीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा रक्षा मन्त्री हिजो साँझ बेइजिङ्ग पुगेका हुन् । भेटवार्तामा चीनका लागि नेपालका महामहिम राजदूत लीलामणि पौड्याल, नेपाली सेनाका रथी गौरव तण्डुल, बेइजिङस्थित नेपाली राजदूतावासका सैनिक सहचारी सहायक रथी विनोद पाण्डे र नेपालबाट गएका प्रतिनिधिमण्डलका अन्य सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

आगामी २०१९ अक्टोवर २२ का दिन उक्त फोरममा उपप्रधानमन्त्रीले नेपाललगायतका साना मुलुकका सुरक्षा सरोकारका विषयमा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूबीच नेपालको धारणा राख्ने कार्यक्रम रहेको रक्षा मन्त्रालयका उपसचिव मनोजकुमार आचार्यले जानकारी दिए ।