विद्युत प्राधिकरण हेटौंडा आयोजनाका प्रमुखविरूद्ध १० लाखको भ्रष्टाचार मुद्दा


काठमाण्डु – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना कार्यालयका प्रमुख ईश्वरीप्रसाद जैसवालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शुक्रबार आयोगले जैसवालसँग १० लाख रुपैयाँ बिगो र सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । जैसवाल प्रसारण लाइनभित्र रुख कटानको ढुवानी तथा घाटगद्दीको रकम भुक्तानी दिँदा सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका थिए ।

जैसवालले उक्त आयोजनाबाट विभिन्न मितिमा प्रकाशित सूचनाअनुसार प्रसारण लाइनभित्र पर्ने रूख कटान गरी ढुवानी तथा घाटगद्दी गरेबापतको रकम भुक्तानी माग गर्दा आफ्नो पद, ओहोदा र अधिकारको दुरूपयोग गरी घुस लिएको देखिन आएको अख्तियारले जनाएको छ ।

जैसवाललाई बिगो दश लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय माग गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement