राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिनेछु : ईश्वर पोखरेल

राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिनेछु : ईश्वर पोखरेल


काठमाण्डु – नेकपा एमालेका नेता एवं काठमाण्डु क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आईतबार काठमाण्डुमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमा बोल्दै उनले कोही मानिस अनियमितता र भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यो एमाले हुन नसक्ने भन्दै दोषी देखिए दण्डको भागेदार हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘कोही मानिस अनियमितता र भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यो एमाले हुन सक्दैन । कोही संलग्न देखियो भने त्यो एमाले होइन । त्यो कानूनी दायरामा आउनुपर्छ र दण्डका भागेदार हुने छन् । यो एमालेको प्रतिबद्धता हो । राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिनेछु ।’

आफूबाट कुनै पनि कानुन विपरीतका र अनियमितताका कुरा नहुने बताउँदै त्यस्तो भयो भने जस्तो सजाय पनि स्वीकार रहेको उनले बताए ।

‘म कुनै पनि कानून विपरीतका, अनियमितताका कुरा मबाट हुनेछैन । त्यस्तो भयो भने तपाईंहरूले दिएको जस्तो सजाय पनि स्वीकार्य छ,’ उनले भने ।

पोखरेलले उम्मेदवार बनाउने कुरा रहर र लहरले नहुने बताउँदै भने, ‘तपाईं कतिपटक उम्मेदवार बन्ने जिज्ञासा आउन सक्छ । म भन्छु उम्मेदवार बनाउने कुरा रहर र लहरले हुँदैन । कसैलाई रहर लाग्यो कसैलाई लहर चल्यो त्यही आधारमा उम्मेदवार बन्ने कुरा हुँदैन । त्यो एउटा विधि र प्रक्रियाबाट हुन्छ ।’

उनले अहिले जातिय सद्भाव खल्बल्याउने प्रयास भइरहेको बताउँदै त्यसको विपक्षमा एमाले खडा हुने बताए ।