काठमाण्डु – नेकपा एमालेको जारी ११औं महाधिवेशनको बन्दसत्रमा पूर्वराष्ट्रपति एवं पार्टी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको अनुपस्थिति र निषेधको विषयले प्रवेश पाएको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बन्दसत्रमा धारणा राख्दै पूर्वराष्ट्रपति भण्डारीलाई महाधिवेशनमा आउन नदिनु बिल्कुल गलत भएको बताए ।
पोखरेलले प्रश्न गर्दै भने, ‘केन्द्रीय उपाध्यक्ष भइसकेको व्यक्ति र आउँछु भनेपछि आउन पाउँदैनौ भन्नु कति विवेक सम्मत ? बिल्कुल त्यो गलत हो, त्यसरी भनिनु हुँदैन ।’
उनले भने, ‘आउँछु, मेरो घर हो । म जहाँ जन्मिएँ, हुर्किएँ त्यही ठाउँमा मेरो अन्तिम जीवन बिताउँछु भन्दा इस्यू थिएन, नन् इस्यूलाई इस्यू बनाइयो, यो गरिनु उचित थिएन ।’
यसअघि पूर्वराष्ट्रपति भण्डारीले सार्वजनिक कार्यक्रममा पार्टीको राजनीतिमा नफर्किने बताएपछि एमालेले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । उनी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्न सक्ने चर्चाबीच उनलाई रोकिएको थियो ।




प्रतिक्रिया