प्रचण्डले एमसीसीबारे जनतालाई अलमल्याउने अभिव्यक्ति दिए : ईश्वर पोखरेल

प्रचण्डले एमसीसीबारे जनतालाई अलमल्याउने अभिव्यक्ति दिए : ईश्वर पोखरेल


काठमाण्डु- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिएको बताएका छन् ।

शनिबार काठमाण्डु महानगरपालिका–४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे प्रचण्डले अभिव्यक्ति दिने गरेको बताएका हुन् ।

उनले जनताको बीचमा फट्याई कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरे । पोखरेलले भने, ‘राजनीतिक ढंगले अनेक खालका दूभाग्यपूर्ण विवादहरु देखिरहेका छौं हामीहरू । राजनीतिक पार्टीका नेता यता हेर्यो यतैका कुरा, उता हेर्यो उताका कुरा, ऊ पर हेर्यो, परका कुरा गर्ने खालका भए भने त्यो फट्याईबाट समाज आक्रान्त हुन पुग्छ । यो कुरालाई पनि चिन्नुपर्ने जरुरी हुन्छ ।’

प्रचण्डले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गर्ने गरेको आरोप समेत उनले लगाए । पोखरेलले भने ‘विदेशीसित गयो एउटा कुरा, कार्यकर्तासँग भेट भयो एउटा कुरा । जनतासँग गयो अर्कै कुरा । यस्ता खालका झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका कतिपय गतिविधि भएका छन । जो दूर्भाग्यपूर्ण कुरा हो । यस्तो हुनु हुँदैन । त्यसकारणले हामी राजनीतिक पार्टीका मान्छेहरु पनि जनताको निगरानीमा बसिराख्यौ भने हामीबाट भूलचुक हुन कमी हुन्छ । भूलचुक हुँदैन । भइहाल्यो भने थोरै होला, सच्याउन सकिन्छ । तर जनताको निगरानीमा बसिएन भने अनि कमजोरीहरू हुन्छन् ।’