काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सारा विरोधीहरू एक ठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चको पार्टी विस्तार तथा सुदृढीकरण विषयक अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यतिबेला पार्टीमा मेलमिलाप हुनुपर्ने बताए ।
‘अहिले पनि हाम्रा अगाडि चुनौतीहरू छन् । आफैंभित्रका चुनौती र कमजोरी छन् र बाहिर पनि शत्रुहरूले मिलेर हामीलाई हमला गर्दैछन् । सारा विरोधीहरू एक ठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गर्दैछन्, यस बीचमा हाम्रो मेलमिलाप हुनुपर्छ, एक हुनुपर्छ ।’
पार्टीका निर्णय तल्लो तहसम्म पुर्याउने विधि प्रभावकारी नभएको र व्यक्तिगत आदेश हाबी भएको उनले बताए । ‘फाइँफुइँ लाउने नेताहरू भेटिन सक्छन्, यस्ता नेताहरूको काम छैन । हामीले मान्छेको मन जित्नुपर्छ भनिरहेका छौं । फाइँफुइँ लाएर कसरी काम हुन्छ,’ उनले भने, ‘यो मैले भन्दिएँ, यो मैले आदेश दिएँ, अरे यार तिमी आदेश दिने को हौं ?’
उनले पार्टीका निर्णय कार्यान्वयनमा समस्या देखिएको र यसरी पार्टी नबन्ने बताए । उनले भने, ‘निर्णय तल पुगेकै छैन । अनि पार्टी बन्छ कसरी ? पार्टी त हावादारी बन्छ त्यसपछि, अहिले हाम्रो पार्टी हावादारी–हावादारीजस्तो भएको यही कारणले हो । निर्णय माथि एउटा छ त्यो निर्णय तल पुग्दैन ।’




प्रतिक्रिया