इजरायलले भन्याे- हमास विघटन भइरहेको छ, खान युनिसमा भीषण लडाई जारी


एजेन्सी –  इजरायली सेनाले गाजामा आफ्नो सैन्य कारबाही हमासलाई ध्वस्त पार्ने लक्ष्यको नजिक पुगेको दाबी गरेको छ।

गाजामा इजरायली सेना र हमास चरमपन्थीबीच दुई महिनादेखि द्वन्द्व चलिरहेको छ । यस द्वन्द्वमा हालसम्म १८ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् भने ४५ हजारभन्दा बढी घाइते भएका छन् ।

इजरायलका सेना प्रमुख जनरल हर्जी हेलेवीले सैनिकहरूलाई सम्बोधन गर्दै हमास विघटन हुँदै गएको संकेत देखिएको बताए। उनले सैन्य कारवाहीलाई थप तीव्रताका साथ अघि बढाउनुपर्ने बताए ।

दक्षिणी गाजाको खान युनिस सहरमा इजरायल र हमासबीच भीषण युद्ध चलिरहेको छ ।  इजरायलले खान युनिसको मुख्य इलाकामा बस्ने मानिसहरूलाई सहर खाली गर्न भनेको छ। खान युनिसमा गए राति भीषण बमबारी भएको थियो । यसैबीच, इजरायली सेना प्रमुखले सैन्य कारबाहीलाई थप तीव्र बनाइने बताएका छन् ।

संयुक्त राष्ट्र संघका एक उच्च अधिकारीले गाजाको आधा जनसंख्या भोकमरीको सिकार भएको बताएका छन् । जेरुसेलममा बीबीसी संवाददाता योलान्डे नेलका अनुसार प्रत्यक्षदर्शीहरूले खान युनिसमा गएको रात ‘आतंक र डर’को रात भएको बताएका छन्।

रातभरि बम विष्फोट र भीषण लडाईको आवाज जारी रह्यो। हमासले रफाह जाने बाटोमा भीषण लडाई सुरु भएको बताएको छ । यो गाजाको सबैभन्दा दक्षिणी क्षेत्र हो र लाखौं प्यालेस्टिनी अन्य क्षेत्रबाट भागेर यहाँ पुगेका छन्।

यसैबीच, इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलतर्फ जाने कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिएका छन् र यस क्षेत्रमा द्वन्द्व फैलिने सम्भावना बढेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement