इजरायलबाट ५८ थान भेन्टिलेटरसहित २० करोडको स्वास्थ्य सामाग्री ल्याइयाे

इजरायलबाट ५८ थान भेन्टिलेटरसहित २० करोडको स्वास्थ्य सामाग्री ल्याइयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — इजरायलबाट स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । उक्त विमान आज बिहीबार विहान ११ः१० बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको दूतावासले जानकारी दिएको छ ।

नेपाली राजदूतावास इजरायलको पहलमा इजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र र कम्पनी लगायतबाट संकलित तथा नेपाली दूतावास परिवार सहित इजरायलवासी नेपालीबाट संकलित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु लिएर नेपाल एअरलाइन्सको विमान नेपाल आइपुगेको हो ।

दूतावासका अनुसार विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरु तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उनीहरुलाई ती सामग्री हस्तान्तरण पनि भएको छ ।

इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यकाअनुसार करिब २० करोड रुपैंया बराबरका १८ टन स्वास्थ्य सामाग्री नेपाल ल्याइएको हो ।

उनका अनुसार सामग्रीहरूमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन् । यस अघि पनि राजदूत शाक्यले नेपालका लागि इजरायलका तर्फबाट कोभिडसँग सम्बन्धित विभिन्न सहयोगहरू जुटाउन उल्लेख्य भूमिका खेलेकी थिइन् ।

नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलो पटक अवतरण भएको हो । ‘इजरायलमा नेपाली ध्वजावाहकको पहिलो औपचारिक उडान (मेडिकल कार्गो चार्टर्ड उडान) सम्भव भएको छ,’  राजदूत शाक्यले भनिन्, ‘यो अभियानमा सफल बनाउन सहयोग गर्नुहुने नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिसिएमसी, नेपाल एअरलाइन्स, भारत, पाकिस्तान, बहराइन, साउदी अरब तथा ईजिप्टस्थित नेपाली राजदूतावासहरु, इजरायलस्थित नेपाली समुदायका साथै इजरायली पक्षतर्फ इजरायली परराष्ट्र मन्त्रालय, काठमाडौँस्थित इजरायली राजदूतावास, सहयोग संकलन, पारवहन तथा अन्य धेरै क्षेत्रमा सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद ।’