इजरायलद्वारा इरानविरुद्ध सैन्य कारबाही सुरु, पाक-अफगान युद्धमा ३०० बढीको मृत्यु

इजरायलद्वारा इरानविरुद्ध सैन्य कारबाही सुरु, पाक-अफगान युद्धमा ३०० बढीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको छ ।

इजरायलका रक्षामन्त्रीले इरानविरुद्ध आक्रमण भएको पुष्टि गर्दै देशभर संकटकालीन अवस्था घोषणा गरिएको बताएका छन् ।

इजरायली सरकारका अनुसार इरानबाट ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत प्रतिकारात्मक आक्रमण हुन सक्ने त्रासका कारण संकटकाल लागू गरिएको हो ।

आक्रमणपछि राजधानी इरानको तेहरानका विभिन्न भागमा विस्फोट भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार तेहरानको जम्म्हूरी क्षेत्र र युनिभर्सिटी स्ट्रिट आसपास कैयौँ क्षेप्यास्त्र प्रहार भएका छन् ।

इरानका सरकारी सञ्चारमाध्यमहरूले राजधानी तेहरानमा कैयन् ठूल्ठूला विस्फोट भएका विवरण दिएका छन्। सो क्षेत्रमा तनाव चुलिँदै गर्दा अनि आसपासका इलाकामा अमेरिकी फौज एकत्रित भइरहेको बेला पछिल्लो आक्रमण भएको छ।

इजरायली सेनाले देशभर साइरन बजाइएको र सर्वसाधारणलाई सुरक्षित स्थाननजिकै बस्न निर्देशन दिइएको छ । इजरायलमा विद्यालयहरू बन्द गरिएका छन्, भने सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ । यस्तै अत्यावश्यक सेवा बाहेकका कार्यस्थलहरू बन्द गरिएको छ ।

३०० भन्दा बढीको मृत्यु

यता पाकिस्तान र अफगानिस्तानबिच जारी सैन्य द्वन्द्वमा हालसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने दुवै पक्षका गरी ५०० भन्दा बढी जना घाइते भएका छन्। दुवै देशले एकअर्कालाई थप सैन्य कारबाहीको धम्की दिइरहेका छन्।

पाकिस्तान र अफगानिस्तानबिच बिहीबार रातिदेख लडाइँ जारी छ ।

पाकिस्तानी सेनाका प्रवक्ता अहमद सरिफ चौधरीले अहिलेसम्म २७४ तालिबानी लडाकु मारिएको दाबी गरेका छन्। साथै ४०० जनाभन्दा बढी घाइते भएको उनले बताएका छन्।

यस्तै पाकिस्तानले आफ्ना पनि १२ सैनिक मारिएको र २७ जना घाइते भएको बताएको छ। उता तालिबानले आफ्ना ८ देखि १३ लडाकु मात्र मारिएको र केही घाइते भएको दाबी गरेको छ। उसले ५५ पाकिस्तानी सैनिक मारिएको र दुई सैन्य मुख्यालयसहित धेरै चेकपोइन्ट कब्जा गरिएको दाबी पनि गरेको छ।

पाकिस्तानले थप आक्रमण सुरु गरे झन् कडा जवाफ दिइने चेतावनी तालिबानले दिएको छ। पाकिस्तान र अफगानिस्तानबिच डुरन्ड रेखाका विषयमा लामो समयदेखि विवाद छ। दुवै देशले एकअर्कालाई आक्रमण गरेको तथा आतंककारीरूलाई आश्रय दिएको आरोप लगाइरहेका छन्।

सन् २०२१ मा अफगानिस्तानको सत्ता तालिबानले नियन्त्रणमा लिएयता पाकिस्तानसँग द्वन्द्व बढेको हो। सन् १८९३ मा ब्रिटिस भारत र अफगानिस्तानबिच डुरन्ड रेखा सम्झौतामा हस्ताक्षर भएको थियो। डुरन्ड रेखाले अफगान पस्तुन समुदायलाई दुई देशमा विभाजन गर्‍यो।

यो रेखा २ हजार ४३० किलोमिटर लामो छ र हाल अफगानिस्तान र पाकिस्तानको बिचमा छ। यो रेखाले बलुचिस्तान, खैबर पख्तुनख्वा र पाकिस्तानको आदिवासी क्षेत्र छुन्छ। तालिबानले यो सम्झौतालाई अस्वीकार गरेको छ र यो समाप्त भएको मानिनुपर्ने तर्क गरेको छ।