इजरायल-इरान युद्ध भड्कियो भने के हुन्छ ?

इजरायल-इरान युद्ध भड्कियो भने के हुन्छ ?


काठमाण्डु- विगत तीन दिनखेखि इजरायल र इरानबीच युद्ध जारी छ ।

इजरायलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रह्यो भने दुवै तर्फबाट एक अर्काको देशमा गोलाबारी भइरहेको छ ।

इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रेको इरानले शनिबार राति मध्य इजरायलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ ।

अहिलेसम्म युद्ध दुई देशबीच मात्रै सीमित छ । यद्यपी संयुक्त राष्ट्रसंसहित अधिकांश देशले युद्ध रोक्न र संयमता अपनाउन इजरायल र इरान दुवैलाई आग्रह गरेका छन् । तर दुवै देशले यी आग्रहलाई नर्कादै युद्धमै होमिएका छन् ।

यदि दुवै पक्षले कसैको आग्रह सुनेनन् भने के हुन्छ? अथवा लडाइँ बढ्यो या फैलियो या भड्कियो भने के हुन्छ?

अमेरिकाले अस्वीकार गरे पनि इजरायली आक्रमणलाई उसले मौन समर्थन गरेको छ ।

इरानले पनि इजरायलमा अमेरिकी समर्थन रहेको बुझेको छ । र यसको जबाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गर्न सक्छ ।

त्यसमा इराकमा रहेका विशेष फौजका शिविरहरू, खाडीमा रहेका सैन्य अखडा र यो क्षेत्रमा रहेका कूटनीतिक नियोगहरू पर्न सक्छन् ।

त्यसका लागि इरानका ‘प्रोक्सी’ फौजहरू हमास र हिज्बुल्लाह कमजोर भएका हुन सक्छन् तर इराकमा रहेका यसका सहयोगी सशस्त्र विद्रोहीहरू अझै पनि सशक्त रहेका हुन सक्छन् । अमेरिकाले यस्तो आक्रमणको सम्भावना औँल्याउँदै केही फौज फिर्ता पनि बोलाइसकेको छ ।

यद्यपि सार्वजनिक खपतका लागि उसले यदि अमेरिकी निसानामा कुनै आक्रमण भए त्यसको कडा परिणाम भोग्नुपर्ने चेतावनी इरानलाई दिएको छ ।

यदि तेल अभिभ वा अन्य कुनै स्थानमा अमेरिकी नागरिक मारिएको अवस्थामा के हुन सक्छ ? त्यस अवस्थामा डोनल्ड ट्रम्प आफैँ कुनै कदम चाल्न बाध्य हुन सक्छन् ।

इरानलाई हराउन र आफूलाई सघाउन अमेरिका यो युद्धमा तानिने अवस्थाका लागि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू लामो समय देखिको पर्खाइमा छन् ।

सैन्य विश्लेषकहरूका अनुसार इरानका आणविक उत्पादन केन्द्रहरूसम्म प्रहार गर्न आवश्यक बंकर छेड्न सक्ने बमवर्षकहरू अमेरिकासँग मात्रै छन् ।

तर यसो गर्न ट्रम्पलाई एउटा अप्ठ्यारो छ । उनले चुनावमा भोट माग्न चलाएको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानका क्रममा आफूले अनन्त चलिरहने युद्ध सुरु नगर्ने वाचा गरेका थिए ।

तर उनको दल रिपब्लिकनका कैयौँले इजरायल सरकार र तेहरानमा सत्ता पलट हुनुपर्ने इजरायली सत्ताको धारणालाई समर्थन पनि गरिरहेका छन् ।

यदि अमेरिका यो युद्धमा सक्रिय सहभागी भयो भने त्यसले युद्ध थप चर्काउने मात्रै नभई त्यसलाई विनाशकारी र लामो समयसम्म चल्ने स्तरको बनाउने सम्भावना छ ।

यदि इजरायलका अति सुरक्षित सैन्य र अन्य निसानाहरूमा क्षति पु¥याउन इरान सफल भएन भने उसले त्यसपछि खाडी राष्ट्रका केही सहज निसानाहरूमा आफ्ना क्षेप्यास्त्र ताक्न सक्छ ।

वर्षौँदेखि आफ्ना शत्रु पक्षलाई सहयोग गरिरहेको इरानले ठान्ने देशहरू त्यो निसानामा पर्न सक्छन् ।
यस क्षेत्रमा निसानाका लागि कैयौँ ऊर्जा र पूर्वाधारहरू छन् । सन् २०१९ मा साउदी अरबको तेल उत्खनन क्षेत्रमा आक्रमण गरेको आरोप इरानमाथि लागेको थियो ।

सन् २०२२ मा पनि उसको समर्थन रहेको यमनको हुथी विद्रोही समूहले यूएईका केही स्थानमा आक्रमण गरेका थिए । त्यसयता इरान र यो क्षेत्रका केही देशहरूबीच एक किसिमको मेलमिलाप भएको छ ।

तर यिनै देशहरूले अमेरिकी हवाई अड्डाका लागि ठाउँ दिएका छन् । त्यसमध्ये केहीले गोप्य रूपमा गत वर्ष इरानी क्षेप्यास्त्र आक्रमणबाट इजरायललाई जोगाउन सहयोग पनि गरेका थिए ।

यदि खाडी क्षेत्रमा आक्रमण भयो भने ती राष्ट्रहरूले पनि आफ्नो र इजरायलको रक्षाका लागि अमेरिकी युद्धक विमान मगाउन सक्छन् ।

इजरायलको आक्रमण असफल भयो भने के हुन्छ ? इरानका आणविक केन्द्रहरू जमिनमुनि निकै गहिरोमा र अति सुरक्षित रहेछन् भने के हुन्छ ?

यदि अस्त्र बनाउन संवद्र्धन गरिएको उसको ४०० किलोग्राम युरेनिअम नष्ट भएन भने के हुन्छ ?

त्यसले परमाणुअस्त्रका लागि इन्धनको काम गर्छ र त्यो सम्भवतः अस्त्र बन्नै लागेको अवस्थामा रहेको विश्वास गरिन्छ अनि त्यो १० वा त्यसभन्दा अधिक बमहरू बनाउन पर्याप्त रहेको हुन सक्ने आँकलन छ । उक्त युरेनिअम अति गोप्य खानीहरूमा गहिरो गरी लुकाइएको हुन सक्ने ठानिएको छ ।

इजरायलले इरानका केही आणविक वैज्ञानिकहरूको ज्यान लिएको हुन सक्छ तर इरानको ज्ञान र विशेषज्ञतालाई कुनै पनि बमले नष्ट गर्न सक्दैन ।

यदि इजरायलको आक्रमणले इरानको नेतृत्वलाई आफ्नो परमाणु क्षमतालाई जति सक्दो चाँडो तयार गर्नु एक मात्रै प्रत्याक्रमणको उपाय हो भनेर विश्वस्त तुल्यायो भने के हुन्छ?

यी सबै भयो भने यसले कम्तीमा पनि इजरायललाई थप आक्रमण गर्न बाध्य पार्न सक्छ । यस क्षेत्रलाई निरन्तर आक्रमण र प्रत्याक्रमणको शृङ्खलामा तान्न सक्छ ।

आगामी दिनहरूमा यो द्वन्द्व कसरी अगाडि बढ्छ भन्नेमा धेरै कुरा निर्भर देखिन्छ । इरानले कसरी र कति कडा बदला लिन्छ र अमेरिकाले इजरायललाई कुन हदसम्मको संयम अपनाउन दबाव दिन सक्छ भन्ने कुरामा पनि यो युद्धको भविष्य निर्भर छ ।