एजेन्सी – इजरायलमा दुई सन्तानसहित एक नेपाली महिला पक्राउ परेकी छन् ।
अध्यागमनबाट खटिएका प्रहरीले श्रमिकका रूपमा कार्यरत ईश्वरा उप्रेती नाम गरेकी महिला र उनका नौ वर्षीय छोरा मिसेल र ५ वर्षीया छोरी सिरालाई पनि इजरायलको हर्जलियास्थित निवासबाट बिहीबार बिहान बच्चासहित पक्राउ गरेको त्यहाँको हारेज डटकमले उल्लेख गरेको छ ।
ईश्वराको नेपालको स्थायी ठेगानाबारे भने समाचारमा खुलाइएको छैन । प्रहरी नियन्त्रणमा रहेकी ईश्वरा ज्येष्ठ नागरिकको सुसारेका रूपमा इजरायल पुगेकी थिइन् । इजरायलमा रहेका कामदारले आफ्नो अनुमतिपत्र नवीकरण गर्नुपर्ने प्रावधान भए पनि उनले त्यसो नगरिएपछि नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ । यद्यपि, उनी कति समयदेखि अवैध रूपमा त्यहाँ रहँदै आएकी थिइन् भन्ने खुलाइएको छैन । जन्म दिएका एक छोरा र छोरीका बावुबारे पनि केही खुलाइएको छैन ।
सोमबार मात्रै त्यहाँको अभिरक्षा अदालतले प्रक्रिया पूरा नभएसम्म तीनैजना हिरासतमा रहने फैसला सुनाएपछि अहिले उनीहरुको गिभन कारागारमा राखेर न्यायिक प्रक्रिया थालिएको छ ।
पक्राउ परेकी नेपाली महिलाबाट जन्मिएका मिसेल त्यहाँको विद्यालयमा अध्ययनरत छात्र हुन् । समाचारमा जनाइएअनुसार उनी आइतबारबाट कक्षा ४ को पढाइ सुरु गर्ने तयारीमा थिए ।
आफ्ना साथीहरूबाट छुटाएर हिरासतमा राखिनुको कारणबारे उनले केही बुझेका छैनन् । हिरासतमा पु¥याइएदेखि नै उनी निरन्तर रोइरहेको समाचारमा उल्लेख छ ।
महिलाको पक्षमा कुनै आवाज नउठे पनि बालकलाई नियमविपरीत नियन्त्रणमा लिइएकाले रिहाइ गर्न माग उठेको छ । इजरायलको आप्रवासीसम्बन्धी कानूनमा कक्षा चलिरहेका बेला आप्रवासी कामदारका सन्ततिलाई डिपोर्ट गर्न नपाइने नियममा टेकेर सरोकारवालाहरूले बालक पक्राउको विरोध गरिरहेका छन् ।
मानवियताका आधारमा उनीहरूलाई इजरायलमै रहन दिनुपर्ने माग राख्दै ती बालकका तर्फबाट ओर्टल सामी नाम गरेका एक व्यक्तिले प्रक्रिया थालेका छन् । उनले बालकको न्यायका लागि त्यहाँको आन्तरिक मामिला मन्त्रालयमा निवेदन दर्ता गराएको हारेज डटकमलाई बताएका छन् ।
इजरायलले पछिल्लो समय गैरआप्रवासी कामदार फर्काउने अभियान नै चलाएको छ । यसअन्तर्गत विनाअनुमति कार्यरतहरुलाई स्वदेश फर्काउन थालिएको छ । अभियान सञ्चालनपछि नेपाली फर्काइएको भने यो पहिलो घटना हो ।




प्रतिक्रिया