५० इजरायली बन्धकको सट्टामा १५० प्यालेस्टिनी बन्दी रिहा गर्ने, चार दिन युद्धविराम

५० इजरायली बन्धकको सट्टामा १५० प्यालेस्टिनी बन्दी रिहा गर्ने, चार दिन युद्धविराम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हमास र इजरायलबीच बन्धकहरुलाई रिहा गर्ने र युद्धविराम गर्ने विषयमा सहमति भएको छ । इजरायलको मन्त्रिपरिषद्ले ५० बन्धकहरूलाई सुरक्षित रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ।

इजरायलको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा बन्धकहरूलाई चार दिनको युद्धविराममा रिहा गरिने बताइएको छ।

यस सम्झौताअनुसार थप १० जना बन्धकलाई रिहा गरेपछि युद्धविराम थप एक दिन लम्बिनेछ । इजरायलको मन्त्रिपरिषद्ले मंगलबार साँझ बसेको लामो बैठकले यो सम्झौतालाई अनुमोदन गरेको हो । मन्त्रिपरिषद्को बैठक बुधबार बिहानसम्म चलेको थियो ।

मन्त्रिपरिषद्को बैठकअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्धकहरूको रिहाइका लागि सम्झौता गरेपछि पनि हमाससँगको युद्ध जारी रहने बताएका थिए ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा १२०० भन्दा बढी इजरायली मारिएका थिए र २०० भन्दा बढी बन्धक बनाइएको छ ।

यस हमलापछि इजरायलले गाजाबाट हमासलाई ध्वस्त पार्ने उद्देश्यले गाजामा आक्रमण सुरु गरेको थियो । गाजामा इजरायली हमला ४६ दिनदेखि जारी छ र इजरायली सेनाले गाजामा ठूलो भूमिगत सैन्य कारबाही पनि गरिरहेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य अभियानमा हालसम्म १४ हजारभन्दा बढी मानिस मारिएका छन् जसमा ५,००० भन्दा बढी बालबालिका छन्।

यसैबीच हमासले इजरायली बन्दीहरूको बदलामा १५० प्यालेस्टाइनीलाई इजरायली जेलबाट रिहा गर्ने बताएको छ । प्यालेस्टिनी सूचना केन्द्रले जारी गरेको विज्ञप्तिमा १५० प्यालेस्टाइनीको सट्टामा ५० इजरायली बन्धकहरूलाई रिहा गरिने बताइएको छ।

यो सम्झौता अनुसार राहत सामग्री र औषधि बोकेका सयौं ट्रकलाई गाजा प्रवेश गर्न दिइनेछ । हमासका अनुसार इन्धन पनि गाजा प्रवेश गर्न दिइनेछ।

हमासले जारी गरेको विज्ञप्तिमा इजरायलले युद्धविरामको अवधिमा गाजामा कसैलाई पनि आक्रमण नगर्ने वा पक्राउ नगर्ने बताएको छ ।

हमासका अनुसार युद्धविरामको क्रममा दक्षिणी गाजामा हवाई यातायात पूर्ण रूपमा बन्द हुनेछ भने उत्तरी गाजामा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म हवाई यातायात बन्द रहनेछ।