विश्व आइटिएफ खेल्न नेपाली टोली बुल्गेरिया प्रस्थान


काठमाडौं – २१औं विश्व आइटिएफ तेक्वान्दो च्याम्पियनसिप खेल्न १४ खेलाडीसहित २३ सदस्यीय नेपाली टोली बुल्गेरिया प्रस्थान भएको छ ।

आगामी अगस्ट २४ देखि ३१ तारिखसम्म बुल्गेरियाको पाल्मोदिप सहरमा आयोजना हुने विश्व च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन् ।

उक्त टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पीताम्बर तिम्सिना, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने, आइटिएफका संस्थापक लीलाबहादुर थापा, १३औं दक्षिण एसियाली खेलकुद सचिवालय प्रमुख कमल खनाललगायतले बिदाइ गरेका छन् ।

नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाको नेतृत्वमा रहेको नेपाली टोलीले विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेको हो । पुरुषमा गोविन्द खत्री, जमालुद्दिन शैख, ईश्वर थापा, मोहन गाहा, आशिष थापा, नवराज खरेल, राजन रसाइली, दीपक बोहरा, आकाश चन्द घर्तीमगर र दिनेश बुढा मगर रहेका छन् ।

महिलामा तुलसा राजथला, रिना धिमाल, वसन्ती बुढा मगर र सुनीता भण्डारी छन् । नेपाली टोलीको प्रशिक्षकमा आशिष कार्की र अंकबहादुर घर्तीमगर छन् । उक्त विश्व च्याम्पियनसिपमा नेपालका अन्जुनाथ श्रेष्ठ र घमबहादुर थापाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोलीको अफिसियलमा हरिकृष्ण श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, जोगलाल बुढा र पत्रकारमा दीपक न्यौपाने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement