काठमाण्डु- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ ।
संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको जानकारी दिए । यससँगै जबराको निलम्बन हटेको छ । अब जबरालाई सर्वोच्च फर्किने बाटो खुला भएको छ । उनी बुधबार सर्वोच्च अदालत जाने भएका छन्।
विभिन्न आरोप लगाएर गत १ फागुनमा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । तर, गत असोजमा मात्र संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले जबरालाई महाभियोग लगाउन सिफारिससहित सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो।
महाअभियोग प्रस्तावको पक्ष र विपक्षमा सत्तारुढ गठबन्धन र इतर समूह थिए । तत्काल पारित हुन सक्ने स्थिति नदेखिएपछि प्रस्तावलाई ढिलोगरी संसद बैठकमा पेस गरिएको थियो । तर, यसको छिनोफानो नगरी तत्कालीन प्रतिनिधिसभाको कार्यकाल अन्त्य भयो ।
नवनिर्वाचित सांसद सहभागी प्रतिनिधिसभाको बैठक तत्काल बस्ने अवस्था छैन । निर्वाचन आयोगले निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाएको अवस्था छैन । जसकारण संसद् बैठक कहिले बस्छ भन्ने नै अन्योल छ ।




प्रतिक्रिया