सञ्चारमन्त्री जगदीश खरेलद्वारा राजीनामा

सञ्चारमन्त्री जगदीश खरेलद्वारा राजीनामा


काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्दै दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगेकाले पद त्याग्ने निर्णय लिएको उनले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खरेलले वर्तमान सरकारमा सहभागी हुने अवसर प्रदान गरिएकोप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले जेनजी जनआन्दोलनको जग र नागरिक आकांक्षाबाट बनेको वर्तमान गैरराजनीतिक नागरिक सरकार इमान्दारी, निष्ठा र नैतिकताको उदाहरण बनेको उल्लेख गरेका छन् ।

४ महिनाको कार्यकालमा मन्त्रालयको नेतृत्व निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरेको उनको भनाइ छ । आगामी फागुन २१ गतेमा हुन गइरहेको आमनिर्वाचन सफल बनाउन प्रधानमन्त्री नेतृत्वको सरकारबाट भइरहेको प्रतिबद्धतामा आफू पनि सहभागी हुन पाएकोमा गौरव महसूस गरेको उनले उल्लेख गरेका छन् ।

खरेलले वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षालाई मध्यनजर गर्दै दलीय राजनीतिमार्फत सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्नु आवश्यक ठानेको बताएका छन् । सरकारको स्वतन्त्र र गैरराजनीतिक पहिचानमा आँच नआओस् भन्ने उद्देश्यले दलीय राजनीतिमा प्रवेश गर्नुअघि नै राजीनामा दिएको उनको स्पष्टीकरण छ ।

राजीनामापछि पनि आफ्नो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नयनमा समर्पित रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।