काठमाण्डु – भ्रष्टाचारका काण्ड बाहिर ल्याउने मुख्य कार्यादेशसहित वर्तमान सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा भित्र्याएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीले चौतर्फी ‘सर्च अपरेसन’ थालेका छन् ।
आईतबार सीआईबीको टोलीले कांग्रेस नेत्री तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको माइती पक्षसँगका घरमा छापा हानेर खानतलासी गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएर राजनीतिक प्रभावमा उन्मुक्ति पाउँदै आएको आरोप लागेकी डा. देउवामाथि सीआईबीले अनुसन्धान तीब्र पारेको छ । उनका भाइ भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका घरहरूमा सीआईबीले छापा मारेको छ ।
यससँगै शेरबहादुर र आरजुपुत्र जयवीर बस्ने घरदेखि उनको ससुरालीसहित आफन्तका घरमा समेत सीआईबीले छापा हानेको छ । सीआईबी स्रोतका अनुसार जयवीरको घरबाट प्रहरीले कागजात नियन्त्रणमा लिएको छ । सानेपामा रहेको जयवीरको ससुराली र ससुरालीका नातेदार (कान्छा–जेठा) का घरमा समेत सीआईबीले छापा हानेको छ ।
जेनजी आन्दोलनको जगमा बनेको सरकारले भ्रष्टाचार काण्डमाथि निर्मम कारवाही अगाडि बढाउने नीति लिएको छ ।




प्रतिक्रिया