क्यासिनोमा ‘आइ लेन्स’ प्रयोग गरी ठगी गर्ने ४ भारतीय जेल चलान, सञ्चालक धरौटीमा मुक्त

क्यासिनोमा ‘आइ लेन्स’ प्रयोग गरी ठगी गर्ने ४ भारतीय जेल चलान, सञ्चालक धरौटीमा मुक्त


काठमाण्डु – राजधानी काठमाण्डु महानगरपालिका–२६ ठमेलस्थित छाँया सेन्टरमा सञ्चालित वाल्डो क्यासिनोमा अत्याधुनिक प्रविधिमार्फत ठगीजन्य कार्यमा संलग्न ७ जनाको मुद्दामा काठमाण्डु जिल्ला अदालतले बिहीबार थुनछेक आदेश जारी गरेको छ ।

आदेशअनुसार पक्राउ परेकामध्ये ४ भारतीय नागरिकलाई पुर्पक्षका लागि कारागार पठाइएको छ भने क्यासिनो सञ्चालकसहित ३ जना धरौटीमा छुटेका छन् ।

अदालतले ठगीजन्य कार्यमा मुख्य संलग्नता देखिएका भारतीय नागरिकहरू ५७ वर्षीय सुरेश महाजन (दिल्ली), ३९ वर्षीय प्रमोद मौर्य (उत्तराखण्ड), ३२ वर्षीय विक्रम सिंह (देहरादुन) र ३७ वर्षीय दिनेश वर्मा (हरियाना) लाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न आदेश दिएको छ । उनीहरूले आँखामा लगाउने विशेष आई लेन्सको सहायताले तासका पत्तिहरू प्रस्ट देखिने बनाएर जुवामा ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

मुद्दामा पक्राउ परेका ७५ वर्षीय चिनियाँ नागरिक एवं क्यासिनो सञ्चालक च्यान म्यान चिङ ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । सुनसरीकी ३५ वर्षीया चिजा खड्का र काठमाण्डु टोखाकी ४० वर्षीया भवानी पाण्डे जनही १–१ लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भएका छन् ।

प्रहरीले उनीहरूको साथबाट विशेष प्रकारको आइ लेन्स, तासका गड्डी, नगद रकम, मोबाइल फोन, राहदानी र एटीएम कार्डहरू बरामद गरेको थियो । क्यासिनोमा सामान्य रूपमा खेलिने तासको खेलमा प्रविधिको दुरुपयोग गरी हारजीतलाई आफ्नो पक्षमा पार्ने गिरोह सक्रिय रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ठगी जस्तो गम्भीर अपराधमा संलग्न विदेशी र स्वदेशी नागरिकहरूको नयाँ शैलीले सुरक्षा निकाय र क्यासिनो व्यवस्थापनलाई समेत चकित पारेको छ ।