काठमाण्डु – संसदले कारागार विधेकय २०७८ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतले पारित गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । आइतबार नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दवाफार छलफल भएको थियो ।
२०७६ मंसिर २९ गते दर्ता भएर २०७६ फागुनदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलपछि पारित भएर प्रतिनिधि सभामा प्रतिवेदन पठाइएको थियो । पारित भएको विधेयकको दफा २३ को उपदफा १ मा कारागार प्रशासकले बन्दीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिए बमोजिमको उपयुक्त व्यवस्था गर्नुपर्नेछ भन्ने प्रावधान राखिएको छ ।
अब कैद अवस्थामा रहेका महिला वा पुरुषले सन्तान जन्माउन चाहेमा उनीहरुको प्रजनन् अधिकारको कार्यान्वयन गर्न सो प्रयोजनका लागि उपयुक्त व्यवस्था गर्नुपर्नेछ ।
यस्तै विधेयकको दफा २२ को उपदफा १ मा कारागार कार्यालयले सबै बन्दीलाई सरकारी चिकित्सकद्वारा कम्तीमा २ महिनाको एक पटक नियमित रुपमा र आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गराउनुपर्ने भन्ने व्यवस्था गरिएको छ ।




प्रतिक्रिया