पाेखरा – छात्रालाई होटलमा लगेर परीक्षा लिएकाे आरोप लागेका एक शिक्षा पुर्पक्षका लागि जेल चलान भएका छन्। छात्रालाई एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको समेत प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय उच्च मावि टुँडिखेलका शिक्षक शिरिषकुमार बस्ताकोटी जेलचलान भएका हुन् ।
जिल्ला अदालत कास्कीको आदेशमा शिक्षक शिरिषकुमार बस्ताकोटी जेल चलान भएका हुन्। परीक्षा अमर्यादित बनाएको आरोप लागेका अरु ३ जना धरौटीमा छुटेका छन्। कक्षा ११ की छात्रालाई ऐच्छिक अंग्रेजी विषयको परीक्षा लिन शिक्षक बस्ताकोटीले गत मंसिर १२ गते रुपातालको एक होटलमा लगेका थिए।
परीक्षा होटलको कोठामा लिई बियर मासुसमेत खाएर छात्रामाथि जबरजस्तीको प्रयास गरेको आरोप शिक्षक बस्ताकोटीलाई थियो। उक्त मुद्दामा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बस्ताकोटाीलाई थप अनुसन्धानका लागि कारागारमा राख्ने आदेश गरेको अदालतका सूचना अधिकारी नील पनेरुले जानकारी दिए।
मौका परीक्षा विद्यालयले विद्यालयमै लिनुपर्नेमा शिक्षकले मोटरसाइकलमा राखी छात्रालाई होटल पुर्याएका थिए। उक्त घटना २ महिनापछि सार्वजनिक भएको थियो। प्रहरीले शिक्षक बस्ताकोटीलाई पक्राउ गरी मुद्दा चलाएको थियो।
अदालतले परीक्षा अमर्यादित बनाएको अभियोगको मुद्दामा शिक्षक बस्ताकोटी र सहायक केन्द्राध्यक्ष रेग्मीसँग जनही ७५,७५ हजार धरौटीमाग गरेको छ । त्यसैगरी प्रधानाध्यापक तिवारीसँग ५० हजार र विद्यार्थीसँग ५० हजार धरौटी मागेको छ ।
शिक्षक बस्ताकोटीले अदालती बयानमा आफूमाथिको आरोप झुठो भएको बयान दिएका थिए। बस्ताकोटीले विद्यालयका शिक्षक एवं सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीले ती छात्रालाई जसरी पनि पास गराइदिनुपर्ने भन्दै रेस्टुरेन्टमा लगेर परीक्षा दिने वातावरण बनाउन अह्राएको पनि उनको बयान थियो।




प्रतिक्रिया