काठमाण्डु – माओवादी युद्धबाट बढी प्रभावितमध्येको जिल्ला जाजरकोटमा त्रिपक्षीय प्रतिस्पर्धा छ । माओवादी नेता शक्ति बस्नेतको गृहजिल्ला जाजरकोटमा गत चुनावमा पनि मिश्रित परिणाम आएको थियो । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका गरी सातवटा स्थानीय तह छन्।
०७४ सालको नतिजाका आधारमा एमाले ठूलो दल हो । उसले छेडागाड र भेरी नगरपालिकाको मेयर–उपमेयर तथा शिवालय गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितेको थियो । माओवादीले नलगाड नगरपालिकाको मेयर–उपमेयर तथा जुनिचाँदे गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जित्यो ।उसले बारेकोट गाउँपालिकाको उपाध्यक्ष पनि जितेको थियो । कांग्रेसले कुसे गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष तथा बारेकोटमा अध्यक्ष जितेर आफूलाई प्रतिस्पर्धी दलका रूपमा उभ्याएको थियो ।
आगामी स्थानीय तह चुनावका लागि सातवटै तहमा सत्ता गठबन्धनकारी दलबीच तालमेलको सहमति भएको छ । प्रदेश स्तरबाट तालमेल टुंग्याएर जिल्लामा निर्देशन पठाइएको थियो । अब त्यो कतिको कार्यान्वयन हुन्छ भन्ने हेर्न बाँकी छ । जिल्लाका सबैजसो पालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । कुनै दुई दल मिल्दा अर्को दल निकै पछि पर्ने अवस्था छ ।
गठबन्धनको संयन्त्रले छेडागाड नगरको मेयर कांग्रेस र उपमेयर माओवादी, नलगाडको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस, भेरी नगरपालिकाको मेयरमा एकीकृत समाजवादी र उपमेयर कांग्रेस, शिवालयमा माओवादीको अध्यक्ष र कांग्रेसको उपाध्यक्ष, बारेकोटमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले लिने गरी सहमति भएको छ । तर, यो सहमतिअनुसार उम्मेदवारी दर्ता भने भएको छैन । त्यसैले तालमेल कार्यान्वयन हुनेमा शंका देखिएको छ ।
यदि गठबन्धनकारी दलबीच तालमेल भयो भने यसपटक एमालेलाई धक्का लाग्ने निश्चित छ । त्यस्तो अवस्थामा एमालेलाई एउटै तह जित्न पनि मुस्किल हुन सक्नेछ । तालमेल कार्यान्वयन भएन भने तीन दलले नै मिश्रित नतिजा ल्याउने सम्भावना छ । पार्टी विभाजनका कारण एमालेले केही पालिका गुमाउन सक्नेछ । जिल्लामा १ लाख ३ हजार ८ सय ६९ मतदाता छन् । निर्वाचन आयोगका अनुसार तीमध्ये ५४ हजार ८ सय ५८ पुरुष र ४९ हजार ९ महिला छन् । २ जना अन्य पनि छन् ।











प्रतिक्रिया