मजदुरले गरे नेपाल टेलिकमको टावर बन्द, तीन जिल्लामा फोन सेवा अवरुद्ध

मजदुरले गरे नेपाल टेलिकमको टावर बन्द, तीन जिल्लामा फोन सेवा अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन् । डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङ्क दिनका लागि यो टावर निर्माण गरिएको थियो ।

टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए ।हप्ता दिनदेखि टावर बन्द गरिँदा जाजरकोटको नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबीसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावर बन्द भएका छन् ।

मजदुरले रकम नपाएसम्म टावर नखोल्ने अडान लिएका कारण समस्या भएको नेपाल टेलिकम जाजरकोटले बताएको छ । ठेकेदारले झण्डै दुई लाख रुपैयाँ मजदुरलाई दिन बाँकी रहेको पीडितले बताएका छन् । करिब दुई वर्ष लगाएर निर्माण गरिएको टावर सञ्चालनमा आएको तीन महिना नबित्दै मजदुर आन्दोलित भएका थिए ।

टावर नहुँदा आर्थिक वर्षको अन्तिममा समस्या भएको डोल्पा मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले बताए । मजदुरलाई पटकपटक आग्रह गर्दा पनि टावर नखोल्दा समस्या भएको जाजरकोट नेपाल टेलिकमका प्रमुख गोविन्द्र अधिकारीले बताए । ठेकेदारको बदमासीले गर्दा मजदुर मर्कामा परेको उनले बताए ।