एक सय २० मेगावाट सुनिश्चित, नेपाल–भारत विद्युत् व्यापार सम्झौता


 काठमाडौं – विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर सीमापार प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ। नयाँ दिल्लीमा सोमबार, मंगलबार र बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय पक्षबीच अप्रिल २०१८ बाट लागू हुने गरी १५ महिनाको पीपीए भएको हो। अब पीपीएको म्याद जुन २०१९ सम्म रहनेछ। गत २७ डिसेम्बर २०१७ मा नवीकरण भएको पीपीएको म्याद १७ चैतमा सकिँदैछ।

पीपीएमा कार्यकारी निर्देशक घिसिङ र एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले बुधबार नयाँ दिल्लीमा हस्ताक्षर गरेका थिए। प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले पीपीए हस्ताक्षरपछि ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत एक सय २० मेगावाट विद्युत् आयात सुनिश्चित भएको बताए। ‘हामीले अहिले दिइरहेको दरमा विद्युत् दिन वार्तामा अडान राख्यौं, भारतीय बजारमा विद्युत्को मूल्य बढेकाले अहिलेको मूल्यमा विद्युत् दिनै नसकिने भारतीय पक्षले अडान राखेपछि ६ महिनाका लागि प्रतियुनिट मूल्य ३.९८ भारतीय रुपैयाँ (६.३६ रुपैयाँ र त्यसपछि बाँकी अवधिका लागि उक्त मूल्यमा पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ’, उनले भने।

अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत आयात भइरहेको विद्युत्को मूल्य प्रतियुनिट ३.६० छ। प्राधिकरणले एनभीभीएसँग सुरुमा प्रतियुनिट भारु ३.४४ (५.५० नेरु)मा पीपीए गरेको थियो। भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि बढेर प्रतियुनिट भारु ३.६० पुगेको थियो।

नेपाल–भारत सचिवस्तरीय विद्युत् व्यापार संयन्त्रको बैठकको निर्णयअनुसार प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत विद्युत् आयात गरिरहेको छ। भारत सरकारले एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई नोडल एजेन्सी तोकेको छ। प्राधिकरणले एनभीभीएनसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरी विद्युत् आयात गरिरहेको हो।

एनभीभीएले भारतीय सर्वोच्च अदालतले वातावरण प्रदूषण कम गर्न न्युनस्तरको इन्धन पेट्रोलियम कोक (पेट कोक) र फर्नेस आयलमा प्रतिबन्ध लगाउँदा त्यसबाट विद्युत् उत्पादन गर्ने प्लान्ट बन्द भएको, पेटकोकबाट कोइला प्रतिस्थापित हुँदा विद्युत् उत्पादनमा प्रयोग हुने इन्धनको मूल्य २४ देखि ३५ प्रतिशत बढी पर्ने, भारतको विद्युत् एक्सचेन्ज बजारमा विद्युत्को मूल्य महंगो रहेकोलगायत कारण देखाउँदै प्राधिकरणले माग गरेको परिमाणअनुसार विद्युत् दिन सकिरहेको थिएन।

एनभीभीए त्यही कारण देखाउँदै विद्युत्को मूल्य नबढाई ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट प्रतियुनिट भारु ३.६० मा विद्युत् दिन नसकिने बताउँदै आएको थियो। भारतको विद्युत् एक्सचेन्जको औषत ‘मार्केट क्लियरिङ प्राइस’ प्रतियुनिट भारु ४.१९ (६.७० नेरु) छ। भारतले बंगलादेशलाई १५ वर्षका लागि प्रतिस्पर्धात्मक बोलपत्रमार्फत पाँच सय मेगावाट विद्युत् निर्यातका लागि प्रतियुनिट ७.७ अमेरिकी सेन्ट पीपीए दर तय गरेको छ। भारत सरकारको डिप पोर्टलमार्फत अल्पकालीन बोलपत्र गर्दा निर्धारण भएको विद्युत्को मूल्य प्रतियुनिट ४.२८ देखि ८ भारुसम्म पुगेको पाइएको छ।

प्राधिकरणले व्यापारिक रूपमा, विद्युत् आदानप्रदान सम्झौता र महाकाली सन्धिअन्तर्गत बिजुली भारतबाट ल्याइरहेको छ। व्यापारिक रूपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्जअन्तर्गत बिजुली नेपालमा ल्याइएको छ।

दुई मुलुकबीचको पावर एक्सचेन्च कमिटी (पीईसी)ले तय गरेको मूल्यका आधारमा प्राधिकरणले बिहार, उत्तरप्रदेश र उत्तराखण्डबाट विद्युत् आयात गर्छ। ती विन्दुबाट १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने विद्युत्को प्रतियुनिट मूल्य भारतीय रुपैयाँ क्रमश ः५.५५ (८.८८ नेरु), ६ (९.६ नेरु) र ६.४५ (१०.३२ नेरु) छ। यो मूल्यभन्दा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत विद्युत् आयातलाई गरिएको पीपीए दरभन्दा सस्तो छ। अन्नपुर्णपाेस्ट्मा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement