काठमाण्डु– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका विभिन्न ७ जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ ।
नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ ।
काठमाण्डुका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाण्डु –१ मा एमालेका उम्मेदवार मोहनराज रेग्मीसहित २६, क्षेत्र नं २ मा राममणि फुयाँलसहित २५, क्षेत्र नं ३ मा एमालेका उम्मेदवार रामेश्वर फुयाँलसहित १९, क्षेत्र नं ४ मा २५ जना उम्मेदवारको जमानत जफत भएको हो ।
यसैगरी, काठमाण्डु क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेलसहित २२ जनाको जमानत जफत भएको छ । काठमाण्डु क्षेत्र नं ६ मा १७, क्षेत्र नं ७ मा २६, क्षेत्र नं ८ मा २१, क्षेत्र नंं ९ मा २२ र क्षेत्र नं १० मा २३ जना उम्मेदवारको जमानत जफत भएको हो ।
यसैगरी, कास्की–१ मा १४, कास्की–२ मा १४ र कास्की–३ मा १२ जना उम्मेदवारको धरौटी जफत भएको छ ।
दाङमा ५१ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार दाङ क्षेत्र नं.१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणी चौधरी, एमालेका उम्मेदवार रेवतीरमण शर्मा, स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीसहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ ।
एमालेबाट दाङ १ मा उम्मेदवार बन्नुभएका रेवतीरमण शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीसहित सोही निर्वाचन क्षेत्रका १२ जनाको जमानत जफत भएको भने क्षेत्र नं २ मा २० जनाको जमानत जफत भएको छ ।
यसैगरी, इलाममा १८ जनाको धरौटी जफत भएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत क्षेत्र नं १ मा १३ उम्मेदवारमध्ये ८ र क्षेत्र नं २ मा १४ उम्मेदवारमध्ये १ स्वतन्त्रसहित १० जनाको जमानत जफत भएको छ । यसैगरी, क्षेत्र नं २ मा १० जनाको जमानत जफत भएको छ
भोजपुरमा ७ जना ,बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चासहित ८, रूपन्देहीमा १४३ ललितपुरमा ६३ जना उम्मेदवारको धरौटी जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनीहरुले धरौटीबापत रु १० हजार निर्वाचन कार्यालयमा बुझाएका थिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्नेले धरौटीबापत बुझाएको रकम जफत गरिन्छ ।




प्रतिक्रिया